Erani Mahal
सिद्धबावा सुरूङ् मार्ग निर्माणमा ढिला-सुस्ती
surung gate
तानसेन – सिद्धबावा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको काममा ढिलाई भएको छ । गत २०७९ असोज महिनादेखि नै प्रारम्भिक चरणको काम सुरु भएपनि सुरुङ् मार्गको डिजाइन स्वीकृति नहुँदा निर्माणले गति लिन नसकेको हो । सुरुङ् मार्गको मुख्य डिजाइन स्वीकृतिमा भएको ढिलाईले कामले गति लिन नसकेको आयोजना पक्षले जनाएको छ । निर्माण पक्षले सुरुङ् मार्गको डिजाइन तयार गरेर स्वीकृतिका लागि नेपाल सरकारलाई पठाइसकेको । यद्यपी अहिलेसम्म डिजाइन स्वीकृति हुन नसकेको सिद्धार्थ सुरुङ् मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । सुरुङ् मार्गको डिजाइन स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको र त्यहाँबाट स्वीकृत भएर आउन बाँकी रहेको जैसवालले बताउनुभयो । सुरुङ् मार्गको डिजाइन आगामी साउन १५ भित्र स्वीकृति भएर आउन सक्ने उहाँले जानकारी दिनुभयो । हाल जति डिजाइनको स्वीकृति भएको छ, सोही अनुसार काम भइरहेको निर्माण पक्षले जनाएको छ । सिद्धार्थ सुरुङ् मार्गको हालसम्म सुरुङ् मार्गको गेट निर्माण भइरहेको छ । त्यसअघि त्यसस्थानमा आवश्यक अन्य पूर्वाधारहरू डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायतका काम भइसकेको छ । पछिल्लो समय निर्माण पक्षले सुरुङ् मार्गको माथिल्लो भाग र तल्लो भागमा भित्र जाने गेट निर्माण गरिरहेको जनाएको छ । अहिले पानी परेपछि केही समयका लागि काम स्थगित हुने भएपनि अन्य काम भइरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कम्पनीका प्रतिनिधिले बताएका छन् । निर्माण व्यवसायीका प्रतिनिधिले भने काममा ढिलाई भएको भन्न नमिल्ने बताएको छ । सरकारले गत २०७९ असोज देखि नै सुरुङ् मार्गको निर्माण सुरु गर्ने जनाएको थियो । तर प्रारम्भिक चरणको काम सुरु गर्न ढिलाई हुँदा सुरुङ् मार्गको काममासमेत ढिलाई भएको हो । डिजाइन स्वीकृति हुन ढिलाई हुनु, प्रारम्भिक चरणको काम ढिला सुरु हुनुजस्ता कारणले सुरुङ् मार्गको थालनीमा समेत प्रभाव परेको बताइएको छ । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ् मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो । सुरुङ् मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा माथिबाट खस्ने ढुङ्गा तथा पहिरोका कारण हरेक वर्ष आठ/दश जना नागरिकले ज्यान गुमाउनु परेको भन्दै सरकारले सुरुङ् मार्ग बनाउने योजना अघि सारेको थियो । सुरुङ् मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ्लगायतका क्षेत्रको यात्रा गर्न सहज हुने तानसेनका स्थानीय बासिन्दाको भनाई छ । सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग छिट्टै बन्न सके यात्रा सुरुक्षित हुने विस्वास छ ।
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update