Erani Mahal
पाल्पामा जटिल समस्या बन्दै आत्महत्या !
suci
तानसेन – पाल्पामा आत्महत्या सम्बन्धी घटना सामाजिक समस्याको रुपमा देखा परेको छ । युवा पङ्तिमा बढ्दो निरासा, बेरोजगारी, दीर्घरोग, गरिबी, प्रेम सम्बन्धमा दरार तथा आवेगका कारण आत्महत्या गर्ने क्रम बढेको हो । बालबालिका, किशोर तथा किशोरीले आवेग र प्रेम सम्बन्धका कारण आत्महत्या गर्ने गरेका छन् । युवा, महिला, तथा जेष्ठ नागरिकले भने दीर्घरोग, निरासा, बेरोजगारीका कारण आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा स्थानीय तह, प्रहरी, महिला तथा बालबालिका सम्बद्ध सङ्घसंस्थाले आत्महत्या न्युनीकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेपनि आत्महत्या भने घट्न नसकेको प्रहरीको भनाई छ । पछिल्लो समय केही मानिसले गरिबीका कारण र दीर्घरोगका कारणले बढी आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । थापाले भन्नुभयो, ‘बालबालिका र किशोर–किशोरीले आवेग र प्रेम सम्बन्धका कारण आत्महत्या गरेको पाइएको छ ।’ केही वर्षअघिसम्म विष सेवन गरेर र नदीमा हाम फालेर आत्महत्या गर्ने क्रम थियो । केही वर्षयता भने अधिकांश आत्महत्या गर्ने मानिसले डोरीको पासो लगाएर आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरीले यसलाई सामाजिक समस्याको रुपमा बुझ्नुपर्ने उल्लेख गरेको छ । पाल्पामा चालु आव २०७९/०८० को बैशाखसम्ममा ६७ जनाले आत्महत्या गरेका छन् । तीमध्ये १८ वर्षमुनिका तीन जनाले आत्महत्या गरेका छन् । यस्तै १९ वर्षदेखि ४० वर्षसम्मका २४ जना र ४० वर्षमाथिका ४० जना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । पाल्पामा आत्महत्याको तथ्याङ्क हेर्ने हो भने लुम्विनी प्रदेशकै पहिलोमा रहेको उहाँले बताउनुभयो । आत्महत्या सम्बन्धी समस्या पाल्पाको प्रमुख समस्याको रुपमा रहेको उहाँले बताउनुभयो । आत्महत्याका घटनालाई न्युनीकरण गर्न मुख्य गरी पालिकाहरूले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आत्महत्या गर्ने मानिसलाई सबैभन्दा बढी प्रभावकारी रुपमा सेवा र परामर्श दिन सक्ने भनेको स्थानीय सरकार हो ।’ पाल्पामा अघिल्लो वर्ष ७० भन्दा बढी मानिसले आत्महत्या गरेका थिए । यो वर्ष पनि ७० भन्दा बढीले आत्महत्या गर्ने अनुमान गरिएको छ । आत्महत्यामा कमी ल्याउन पालिकाले परामर्शसहितका अन्य सेवा दिन नसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्थानीय सरकारले आत्महत्या सम्बन्धी समस्यालाई गम्भीर रुपमा लिन नसकेका कारण समस्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आत्महत्या पनि एउटा स्वास्थ्य समस्या नै हो पालिकाहरूले संयुक्त रुपमा मिलेर यस्ता घटनालाई कम गर्न सचेतना, परामर्श र अन्य प्रत्यक्ष सहयोग गर्न सक्छन् ।’ यसलाई यही अवस्थामा छाड्ने हो भने यसले भयाबह रुप लिन सक्ने उहाँले बताउनुभयो । आत्महत्या गर्ने मानिसले आफन्तको सहयोग राम्रोसँग नपाएको, घृणा पाएको, प्रेमप्रेमीका लागि जीवन त्याग गरेको, गरिबीका कारणले आत्महत्या गरेको, कुनै शारीरिक समस्या सहन नसकेको जस्ता ‘सुसाइड नोट’ लेख्ने गरेको छन् ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update