पाल्पा – तानसेन नगरपालिकाले खानेपानी उपभोक्ता समितिको तदर्थ समिति निर्माण गरेको छ । केही दिनअघि तानसेनका खानेपानी उपभोक्ताहरूको भेलाबाट निर्णय भएअनुसार तदर्थ समिति गठन गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले तानसेनका उपभोक्ताहरूको भेलाबाट भएको निर्णय अनुसार नगरकार्यपालिकाको बैठकले सर्वपक्षीय तदर्थ समिति बनाएको जनाएको छ । समितिको संयोजकमा मोहनप्रसाद श्रेष्ठ, सदस्यहरूमा राधेश्याम ज्ञवाली, लालमने पुन, सन्तोषकुमार नेपाल, दिलकुमारी शर्मा, दुर्गादेवी भट्टराई र महेन्द्रबहादुर खाती रहनुभएको छ ।
संयोजक श्रेष्ठ भने नेपाली कांग्रेस पाल्पाका कोषाध्यक्ष हुनुहुन्छ । तदर्थ समितिलाई खानेपानी उपभोक्ता समितिको विधान नियमित बनाउने, नयाँ उपभोक्ता समिति निर्वाचित गर्ने तथा हाल अव्यवस्थित रहेको खानेपानी व्यवस्थापनलाई नियमित बनाउने जिम्मेवारी तोकिएको प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यसअघि खानेपानी उपभोक्ता समिति चार वर्षसम्म अबैध रुपमा सञ्चालन भएको थियो ।
बार एशोसिएनद्वारा निर्वाचन स्थगित
यस्तै नेपाल वार एशोसिएसन पाल्पाले खानेपानी उपभोक्ता समितिको अप्रमाणित विधानबाट निर्वाचनको कार्यक्रम अगाडि बढाएको थियो । तर कानुनी मापदण्डमा उपभोक्ता समितिको कमीकमजोरी देखिएपछि वार एशोसिएसन समेत चुनावी प्रक्रियालाई स्थगित गर्न बाध्य भएको छ । वारका अध्यक्ष विनोद कार्कीले घोषित निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो । २०८० जेठ १३ गतेदेखि १८ गतेसम्म खानेपानी उपभोक्ता समितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम घोषणा गरिएकाे थियो ।
केही जनप्रतिनिधिको बिरोध
यसैबीच तानसेन खानेपानी उपभोक्ता समितिको तदर्थ समिति बनाउने निर्णयमा एमाले निकट जनप्रतिनिधिहरूले असहमति जनाएका छन् । उनीहरूले खानेपानी उपभोक्ता समितिको निर्णय एक्लौटी भएको भन्दै असहमति जनाएको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० २१:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय