पाल्पा – लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको औचित्य पुष्टि हुँदै गएको बताउनुभएको छ । जनताको माग र चाहना अनुसार सरकारले बजेट र योजना कार्यान्वयन गरेको बताउँदै उहाँले सरकार लोकप्रिय बनेको उल्लेख गर्नुभयो ।
प्रदेश सरकार जनताका लागि आवश्यक छ भन्ने कुरा जनताबाट आएका माग र चाहनाबाट पुष्टि हुने उहाँको भनाई छ । नेपाल पत्रकार महासङ्घ पाल्पाद्वारा आइतबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले कमजोर वर्गलाई समेटेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।
बजेट निर्माणका सन्दर्भका केही कमीकमजोरी भएपनि त्यसलाई सच्याउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । आगामी दिनमा बजेट निर्माण गर्दा पर्याप्त छलफल र निती र आवश्यकताका आधारमा योजना छनौट गरिने उहाँको भनाई छ ।
उहाँले बैशाखभित्रै बजेट ल्याउने र पछि पास गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले कुनै पनि जिल्लालाई भेदभाव नगरी बजेट बनाएको जिकिर गर्नुभयो । पाल्पाको पर्यटन विकास तथा भौतिक पूर्वाधारको विकासलाई र जिल्लाको करुवा र ढाकाको प्रबद्र्धनलाई प्रदेश सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो । उहाँले लुम्विनीसम्म आएका पर्यटकलाई पाल्पामा पनि आकर्षित गर्ने योजनामा प्रदेश सरकारले ध्यान दिएको बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले पत्रकारहरूको क्षमता विकास, सामाजिक सुरक्षा तथा प्रदेशभित्र रहेका संचार संस्थाको विकासका लागि सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले गरेका कामको यथार्थ समाचार बाहिर ल्याउन पत्रकारहरूलाई उहाँले आग्रह गर्नुभयो । पत्रकार सम्मेलन महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० २१:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय