पाल्पा - तिनाउ खोलामा पक्की पुल बनेपछि माडी तथा आसपासका बासिन्दालाई यात्रा गर्न सहज भएको छ । चर्चरे–सराई–आर्यभञ्ज्याङ सडकखण्डको तिनाउ खोलास्थित बधबारीमा पुल बनेपछि यस भेगका बासिन्दालाई जुनसुकै समयमा यात्रा गर्न सहज बनेको छ ।
लुम्विनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको लगानीमा तिनाउ खोलाको बाँधबारीमा पक्की पुल बनाएको हो । पुल नहुँदा हजारौँ मानिसहरू तिनाउ खोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।
माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी, वडा नं २ रुप्से र वडा नं. ३ कसेनी र बगनासकाली गाउँपालिकाको पोखराथोक जोड्ने गरी तिनाउ खोलाको बाँधबारीमा पुल बनेको हो । पक्की पुल निर्माण सकिएपछि यस भेगका नागरिकलाई हिउँद तथा वर्षात्को समयमा तिनाउ खोला पार गर्न सहज भएको छ ।
तिनाउ खोलाको बाँधबारीमा पुल बनेपछि अब जुनसुकै बेलामा छोटो दुरीबाट पाल्पा र स्याङ्जासम्मको यात्रा गर्न सहज भएको स्थानीय बासिन्दाकाे भनाइ छ । चर्चरेबाट राम्दीसम्म पुग्न १७ किलोमिटर लामो यात्रा गर्नुपर्ने बाध्यता थियो अब उक्त बाध्यता हटेको छ ।
चर्चरे–आर्यभाङ्ज्याङ् सडकको अर्को स्थान चर्चरेमा समेत पक्की पुल निर्माणको काम यसअघि नै सकिएको छ । यो सडकको दुई स्थानमा पक्की पुल भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि समय र खर्चको समेत बचत भएको छ ।
पुल बनेपछि यस भेगका स्थानीय बासिन्दा समेत खुसी भएका छन् । विगत दुई दशकअघिदेखि बाँधबारीमा पुल बनाउने सपना पूरा भएको स्थानीय बासिन्दा तथा माथागढी–१, का वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।
१८ महिनाभित्र पुल निर्माणको काम सकिने गरी वि.स. २०७७ भदौँ २५ गते सम्झौता भएको थियो । तर निर्माण व्यवसायी काष्ठमण्डप.तिरुपति जेभी, सुनवललले ढिला गरी काम सकेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो । पुल निर्माणमा चार करोड आठ लाख ४९ हजार रुपियाँ खर्च भएको गुप्ताले बताउनुभयो । पुलको ४० मीटर लम्बाई र ११ मिटर चौडाई रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० २०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय