Erani Mahal
नगरपालिकाले तानसेन खानेपानी समितिलाई नियमन र नियन्त्रण गर्न सक्ने
Tansen-Khane-pani-
पाल्पा – तानसेन खानेपानी उपभोक्ता समिति नगरापालिका मातहत रहने संघीय खानेपानी कार्यालयले जनाएको छ । तानसेन नगरपालिका र खानेपानी उपभोक्ता समितिबीच विवाद उत्कर्षमा पुगेको बेला संघीय खानेपानी तथा ढल निकास आयोजना अर्घाखाँचीले खानेपानी उपभोक्ता समिति तानसेन नगरपालिका मातहत सञ्चालन हुनुपर्ने बताएको हो । आयोजनाका प्रमुख किरण आचार्यले इरानीमहल अनलाइनसँग कुराकानी गर्नुहुँदै नगरपालिकाले जलस्रोत ऐन बनाएर खानेपानी उपभोक्ता समितिलाई नगरपालिका मातहत ल्याउन सक्ने बताउनुभयो । अहिले खानेपानी उपभोक्ता समितिले आफू संघीय खानेपानी अन्तर्गत रहेको दावी गर्दै आएको छ । तर आयोजनाका प्रमुख आचार्यले खानेपानी उपभोक्ता समितिलाई खानेपानीको जिम्मेवारी हस्तान्तरण गरिसकेकाले उपभोक्ता समिति नगरपालिका मातहत रहेर सञ्चालन हुने अभ्यास भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले प्रजिअको नेतृत्वमा जिल्ला जलस्रोत समिति हुन्थ्यो तर अहिले यो सम्बन्धी नयाँ व्यवस्था छैन । अधिकांश स्थानमा स्थानीय तह आफैँले जलस्रोतसम्बन्धी ऐन बनाएर कार्यान्वयन गरेको अवस्था रहेको छ ।’ नगरपालिकाले पनि जलस्रोत ऐन कार्यान्वयनमा रहेको जनाएको छ । तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले नगरपालिकाले जलस्रोत ऐन २०७५ अनुसार सञ्चालन हुन उपभोक्ता समितिलाई निर्देशन गरिसकेको जनाएको छ । उपभोक्ता समितिले भने नगरपालिकाको क्षेत्राधिकारभित्र उपभोक्ता समिति नपर्ने दावी गर्दै आएको छ । तानसेन खानेपानी उपभाेक्ता समिति अबैध भएकाे चार वर्ष बितिसकेकाे छ । चार वर्षदेखि उसकाे साधारणसभा तथा अधिवेशन हुन सकेकाे छैन । नयाँ समिति बन्न नसक्दा खानेपानी व्यवस्थापनकाे काम अलपत्र परेकाे उपभाेक्ताकाे भनाइ छ । खानेपानी उपभाेक्ता समितिलाई बैध बनाउने विषयमा जिल्लास्थित राजनैतिक दलका नेताहरू समेत बाधक बन्दै आएकाे तानसेनबासीकाे बुझाइ छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update