पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाको १३ औं गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको छ । आ.व. २०८०।८१ को लागि प्रस्तुत गरिएको नीति कार्यक्रम सभाले पारित गरेको छ । सभामा गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले आर्थिक वर्ष २०८०।०८१ को नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले कृषि तर्फ व्यवसायिक कृषि प्रर्वद्धन, हाट बजार संचालन, माटो परीक्षण शिविर संचालन, अदुवा बेसारको प्रर्वद्धन कार्यक्रम, पशु विमा लगायतको नीति प्रस्तुत गर्नुभयो ।
यस्तै पर्यटन तर्फ कौडेलेख, माथागढी, बहादुरपुर, लखनथापा पार्क, माथागढीमा दैनिक हेरालु राख्ने र समग्र मागागढीको पर्यटकीय विकास गर्ने नीति लिएको छ ।
शिक्षामा गाउँशिक्षा सुधार योजना, अभिभावक विहिन बालबालिकाको अभिभावकत्व वहन, विद्यालय समायोजन, दरबन्दी मिलान, शिक्षकलाई ल्यापटप खरिदमा अनुदानको कार्यक्रम रहेको छ ।
यस्तै स्वाथ्यतर्फ १५ सैयाको अस्पतालको निर्माण, नयाँ स्वास्थ्य संस्थाको जग्गा व्यवस्थापन, विपन्न महिलालाई एम्बुलेन्स खर्च दिने, हात्तिलुंगलाई स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने नीति रहेको छ ।
खानेपानी तथा सरसफाई तर्फ प्लाष्टिक प्लेटलाई पातबाट विस्थापन, सबै वडामा फोहोर व्यवस्थापन केन्द्रको संभाव्यता अध्ययन गर्ने उल्लेख छ । गाउँपालिकाले मजदुर विमा, एक वडा एक खेल मैदान, आमा समूह र बालक्लवहरुको सूचिकृत गर्ने नीति लिएको छ । उर्जातर्फ काठको पोल विस्थापन गर्ने, यातायात संचालनमा अनुदान दिने, सूचना संचारमा गाउँपालिकाको वित्त चित्र निर्माण, प्रशासकीय भवन निर्माण गर्ने योजना रहेको छ ।
यस्तै सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्ने घुम्ति र एककृति सेवा प्रवाह गर्ने नीति लिएको अध्यक्ष चिदीले बताउनुभयो । वातावरण र विपत व्यवस्थापनमा खानीहरुको अभिलेखीकरण गर्ने र सुचिकृत गरी धर्मकाँटाको प्रयोगबाट मात्रै तौल लिने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।
गाउँसभामा उपाध्यक्ष विष्णु माया लुंचेले आर्थिक वर्ष २०८०।०८१ को लागि ५५ करोड २२ लाख ३ हजार ३ सय २४ रुपैंया बराबरको बजेट प्रस्तुत गर्नुभयो । उहाँले गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न उक्त बजेट विनियोजन गरिएको बताउनुभयो ।
सभाले वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । यस्तै सभामा व्यवसाय दर्ता ऐन र विपत जोखिम न्यूनिकरण ऐन समेत पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो । उहाँले पालिकाले वित्तिय अवस्था, अहिलेको केन्द्रीय नीति बजेट स्रोतको आधारमा समेत खर्च कटौती गर्दै मितव्ययी भएर बजेट ल्याएको बताउनुभयो । गाउँसभामा चालु तर्फ ५८ प्रतिशत र पूजीगत तर्फ ४२ प्रतिशत रकम विनियाेजन भएकाे हाे । सभा असार २६ गते पुनः बस्ने गरी स्थगित भएको छ ।
गाउँसभामा दीर्घ सेवा गरेर सेवानिवृत्त भएका कर्मचारी तथा शिक्षकहरुलाइ समेत सम्मान गरिएको थियाे । उहाँहरुलाइ सम्मान पत्र दाेसल्लाले सम्मानित गरेकाे हाे ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० २१:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय