Erani Mahal
तानसेनले ल्यायाे एक अर्ब २ करोड ८ लाखकाे बजेट
tttt
तानसेन – तानसेन नगरपालिकाले आगामी आव २०८०/०८१ का लागि एक अर्ब २ करोड ८ लाखको बजेट ल्याएको छ । नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याएको हो । आइतबार भएको १३ औँ नगरसभामा उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले आगामी आवका लागि तय भएको बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । उहाँले कुल बजेटको ५५ प्रतिशत चालु खर्च र ४५ प्रतिशत पूँजिगत खर्च गर्ने गरी बजेट ल्याएको जानकारी दिनुभयो । नगरपालिकाले गत वर्षको तुलनामा २७ प्रतिशतले कम बजेट ल्याएको हो । गत आवमा नगरपालिकाले एक अर्ब ४० करोडको बजेट ल्याएको थियो । यो वर्ष संघ, प्रदेशबाट आउने अनुदान बजेट कम भएकाले बजेटको आकार घटेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आवमा सात करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा हुने नगर उपप्रमुख सिंजालीले बताउनुभयो । उहाँले आगामी आवका लागि ९ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बताउनुभयो । नगरसभामा नगरसभा सदस्यहरूले आवश्यक सुझाव दिएका थिए । १३ औँ नगरसभाबाट विनियोजन विद्ययेक, आर्थिक विद्ययेक, साझेदारी कार्यक्रम सञ्चालन गर्न बनेको विद्ययेक, फोहोरमैला व्यवस्थापन गर्न बनेको विद्ययेक पारित गरेको छ । सभामा वडा अध्यक्षहरू हेमन्तराज शाक्य, सुनिलकुमार बस्याल, बावुरत्न शाक्यलगायतले विद्ययेक पेश गर्नुभएको थियो । यस्तै नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रतीक्षा सिंजाली गाहाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरपालिकाको न्यायिक समितिबाट सम्पादित मुद्दाहरूको बारेमा जानकारी दिनुभयो । यस्तै लेखा समितिको प्रतिवेदन समितिका संयोजक तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले प्रस्तुत गर्नुभएको थियो । लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अर्यालले नगरपालिकाले बेरुजु घटाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो । नगरपालिकामा बेरुजु घटाउन सार्वजनिक सूचना नै आह्वान गरेर बाँकी रहेको अशुलउपर गरेर बेरुजु घटाउनुपर्ने बताउनुभयो । १३ औँ नगरसभा नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update