पाल्पा - रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक बर्ष आर्थिक बृद्धिदरको बर्षको रुपमा लिईने बताउनु भएको छ । उहाँले नगरको विकासको लागि आगामी आर्थिक बर्षलाई आर्थिक बृद्धिको बर्षको रुपमा अगाडी बढाउने बताउनु भएको हो ।
रामपुर नगरपालिका वडा नं.७ को नाम्ले खोलामा निर्माण सम्पन्न कल्भर्ट योजनाको बिहिवार उद्घाटन गर्दै नगर प्रमुख थापाले विकासका लागि बजेटको आवश्यकता पर्ने भन्दै यो आर्थिक बर्ष नगरको आन्तरिक आय बृद्धिमा केन्द्रित हुने बताउनुभयो । “नगरको विकासका लागि बजेटको आवश्कता पर्छ , अहिले बजेटको अभाव छ त्यसैले बजेटका लागि नगरको आन्तरिक आम्दानी बढाउनु पर्नेछ” – नगर प्रमुख थापाले भन्नुभयो ।
उहाँले जनताको माग अनुसार बजेट विनियोजन गर्नका लागि स्थानीय तहको आन्तरिक स्रोत मजबुत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । यसका लागि नगरपालिकाले राजश्व बृद्धिका कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ । राजश्व बृद्धिका लागि करको दर भन्दा पनि करको दायरा बढाउने रणनिति तय गरेको बताउनुभयो । अहिले बजेट बनाउने समयमा नगरबासीबाट बढि माग आए पनि संघ र प्रदेशबाटै बजेट काटिएर आएको भन्दै बजेट अभावका कारण सवैको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ । साथै उहाँले नगरको हरेक योजना सञ्चालन गर्दा उपभोक्ताको पनि उत्साह र सहभागिता हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष दोवराज तिवारीले थोरै बजेटमा पनि समयमै योजना सम्पन्न गरेकोमा धन्यवाद दिंदै यसको संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले नगरपालिकाले जनताको अत्यावश्यक कुरालाई मध्यनजर गरेर बजेट विनियाजन गरेकोमा धन्यवाद दिनुभयो ।
साथै खोलामा कल्भर्ट निर्माण भए संगै बर्षादको समयमा आवत जावत गर्न समस्या नहुने बताउनुभयो । यस्तै नेकपा एमालेका प्रतिनिधि सुकदेव पोखरेलले कल्भर्ट निर्माणले यस क्षेत्रको जनतालाई राहत महसुस हुने भन्दै यसको संरक्षणमा ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा निर्माण समितिका अध्यक्ष यम प्रसाद भट्टराईले कल्भर्ट निर्माण सम्पन्न भए संगै बर्षातको समयमा आवत जावतमा सहज हुने बाउनुभयो ।साथै निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
निर्माण समितिका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समितिका सदस्य शिक्षा खनालको स्वागत र उमाकान्त भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको ८ लाख र १ लाख ४० हजार बराबरको लागत सहभागिता गरि ९ लाख ४० हजारको लागतमा कल्भर्ट निर्माण गरिएको हो ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय