कृष्ण पाेखरेल पाल्पा - जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना सहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले १४ औ गाउँसभा शुक्रवार देखी गाउँपालिकाको सभाहलमा शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गगत भट्टराईको सभाअध्यक्षमा अधिवेशनम शुरु भएको हो ।
गाउँसभामा अध्यक्ष भट्टराई आगामी बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अध्यक्ष भट्टराईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय श्रोत साधनलाई स्वरोजगारसँग जोड्ने, समृद्ध गाउँपालिका निर्माण गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान बनाउने, योजनाबद्ध स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, स्थानीयवासीको आर्थिक समृद्धि कायम राख्ने र २०८५ सम्म विकाशिल पालिकामा स्तरउन्नती गर्ने विषयमा प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषि तथा पशु विकास क्षेत्रमा व्यवसायीकरण, सहज, सर्वसुलभ तथा रोजगारमुलक गुणस्तरीय शिक्षा प्रदान गर्ने, स्थानीय जात जाती भाषा कलासंस्कृतीको संरक्षण तथा पुस्तान्तरण गर्ने, स्थानीय श्रोत साधनमार्फत गरिवी न्युनिकरण गर्ने, लक्षित तथा पिछडिएको समुदायको जीवनस्तरमा सुधार गर्ने र दिगो विकास, जैविक विविधता र वातावरणको संरक्षण गर्ने लगायतका विषयमा अध्यक्ष भट्टराईले जोड दिनुभयाे ।
चालु आर्थिक बर्षमा शुरु भएको गुल्मी, अर्घाखाची र रुपन्देही जिल्ला जोड्ने सडक निर्माणलाई निरन्तरता, १५ शैयाको अस्पताल निर्माण, छहरा स्वास्थ्य चौकीमा आकस्मिक सेवा सञ्चालन, एक वडा एक गौरवको आयोजना, विद्यालय नर्सिंङ कार्यक्रम विस्तार , एसइई उत्तिर्ण गरिव जेहेन्दार विद्यार्थीहरुलाई प्राविधिकधारको अध्ययनमा छात्रबृत्ति, कक्षा ८ माथीका छात्राहरुलाई आत्मरक्षा तालिम, छात्राहरुलाई विद्यालयमै निःशुल्क प्याडको व्यबस्था जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन् । आगामी एकिकृत घुम्ती सेवा, घर–घरमा जेष्ठ नागरिक उपचार सेवा, दीर्घ रोगीहरुको निःशु्ल्क चेकजाच तथा औषधीको व्यवस्था, ठाउँ–ठाउँमा योग कक्षा, एक घर एक घारा अभियानलाई निरन्तरता, खानेपानीको लागि मुहान संरक्षण, फोहोरमैला व्यवस्थापन जस्ता कार्यक्रम रैनादेवी छहराको नीति तथा कार्यक्रममा राखिएका छन् ।
युवा तथा खेलकुदतर्फ कटौजेपानी खेलमैदानलाई थप स्तरउन्नती गर्दै जाने, अध्यक्ष कप तथा वडास्तरमा विभिन्न खेलकुद प्रतियोगिता गर्ने, वडा वडामा आवश्यकता अनुसार खेलमैदान निर्माण गर्ने, युवा विदेश हैन विजनेस भन्ने नारालाई सफल बनाउन रोजगारमुलक तालिमहरु सञ्चालन जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन् ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण अन्तर्गत महिलाको सिप क्षमता तथा नेतृत्व विकास गर्ने, गर्भवती महिलाका लागि आमा सुरक्षा र नवजात शिशुुको पोषण कार्यक्रम, ७५ बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको लागि घरमै सामाजिक सुरक्षा कार्यक्रम र विश्रामस्थल निर्माण, विभिन्न जातजातीका परम्परागत पेशालाई व्यवसायीकरण गर्ने नीति तथा कार्यक्रम रहेको छ । कृषि तथा पशुपंक्षीतर्फ एक घर एक करेसाबारी, तरकारी उत्पादनमा आत्मनिर्भर, कृषि पकेट क्षेत्र, सामुहिक रुपमा व्यबसायिक खेती, बाँझो जमिनमा सामुहिक करार खेती, रैथाने वाली तथा विउ संरक्षण, कृषि एम्वुलेन्सको व्यवस्था, पालिकालाई मासु, अण्डा, दुध र तरकारीमा आत्मनिर्भर , कृषियन्त्र र कृषिजन्य उत्पादित वस्तुको सामग्रीमा छुटको व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ । अध्यक्ष भट्टराईले पेस गरेको नीति तथा कार्यक्रममा सहकारी तथा वित्तिय क्षेत्र, उद्योग तथा पर्यटन, पुर्वाधार विकास, भवन तथा आवास सहरी विकास, सिंचाई उर्जा तथा विद्युुत, सूचना तथा सञ्चार, वन वातावरण तथा विपद्, सुशासन तथा संस्थागत विकास जस्ता विषयवस्तु समेटिएका छन् ।
प्रस्तुत नीति तथा कार्यक्रम माथी कार्यपालिका सदस्य सूर्य बहादुर कार्की, वडा सदस्य धन बहादुर रायमाझी लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रममा उपाध्यक्ष युवराज थापा, प्रवक्ता देवेन्द्र पुन सहितका जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु सहित कर्मचारीहरु पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १३:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय