पाल्पा - लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर पुगेको छ । आकाशे पानी नपरेपछि खेतबारी तथा करेसाबारीमा लगाइएका अन्नबाली तथा तरकारी सप्रन पाएका छैनन् ।
मकै, तरकारी, फलफूल खेती सिँचाइ अभावले सुक्न थालेका छन् । मकै खेतीले हराभरा हुने खेतबारी यतिबेला सुक्खा बनेका छन् । विगतका वर्षमा यस समय खेतमा लगाइएको मकै स्याहार्ने चटारो हुने गरेकोमा यस पटक खेतमै घुँघा नलाग्दै सुकेर नष्ट भएको पाल्पाको रामपुरकी कृषक राधिका भण्डारीले बताउनुभयो ।
“अघिल्ला वर्षमा खेतमा लगाइएको मकै पाकेर स्याहार्ने चटारो हुन्थ्यो, खडेरीले अहिले त एउटा घोँगा पनि मकै स्याहार्न पाइएन, किसानलाई खेती गरेर खान पनि समस्या छ”, उहाँले गुनासो पोख्नुभयो ।
खेतमा लगाइएको मकैले वर्ष दिनसम्म भैसीलाई आहार व्यवस्थापनका लागि सजिलो हुने गरेकोमा यस पटक उत्पादन स्याहार्न नपाउँदा बजारबाट खरिद गरेर पशुपालन गर्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ ।
जेठको अन्तिम सातादेखि यस क्षेत्रमा खेतमा पाकेका मकै स्याहार्ने कामले किसान व्यस्त रहन्थे । हिजोआज किसानको दिन फुर्सदिलो बनेको छ ।
सिँचाइ सुविधा भएका खेतबारीमा पनि आकाशे पानीको अभावले राम्रोसँग मकै सप्रन सकेको छैन । पानीका मूल खडेरीले सुक्दै जान थालेपछि सिँचाइ सुविधा पुगेका जमिन सुक्खा बनेका छन् ।
लामो समय खडेरीले खोला, नदीनालाका मूल, कुवाका पानी सुक्न थालेपछि कुलो तथा नहरबाट सिँचाइका लगिएका पानी खेतको मुहानमा पुग्नै समस्या रहेको बताउनुहुन्छ, अगुवा कृषक घनश्याम देवकोटा ।
उहाँ भन्नुहुन्छ, “नहर, कुलोको पानी खेतको मुहानमा पु¥याउन सकिएको छैन, तरकारी खेतीमा खानेपानी आयोजनाको पानी बिहान साँभm बोकेर राख्ने हो, दिनभर चर्को घामले पानी राखे नराखेको केही फरक छैन ।” देवकोटाले लामो समयदेखि व्यावसायिकरुपमा तरकारी खेती गरिरहनुभएको छ । करिव पाँचदेखि सात रोपनीमा उहाँले विभिन्न जातका तरकारी लगाउनुहुन्छ । प्रयाप्त सिँचाइ दिन नपाउँदा बोटमा नै तरकारी ओइलाउन थालेको उहाँ बताउनुहुन्छ ।
खडेरीले मकैबाली तथा तरकारी खेतीमा नराम्रो असर गरेपछि यस पटक मकैबाली उत्पादन घट्ने रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । उहाँका अनुसार रामपुरका सिँचाइको पर्याप्त सुविधा भएका केही ठाउँमा लगाइएको मकै आकाशे पानीको अभावले राम्रोसँग सप्रन सकेका छैनन् । घोका लागेका केही मकैमा किरा लाग्नेजस्ता समस्या देखिएको छ भने दाना पनि त्यति राम्रोसँग नलागेको किसान बताउँछन् ।
दुःख गरेर लगाएको बाली स्याहार्न नपाई खडेरीले खेतबारीमै विलिन हुँदा किसान मारमा परेका छन् । खेतबारी खनजोत, मकै गोडमेल, मलजलका लागि गरेको लगानी खेर गएकोमा किसान चिन्तित बनेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० २०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय