Erani Mahal
पाल्पामा अनाहकमा विद्यालय बन्द : विद्यार्थीकाे पढाइ प्रभावित
School-new-government-school
तानसेन – विद्यालयका कर्मचारीहरूको आह्वानले अनाहकमा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । आइतबार पाल्पाका अधिकांश विद्यालयमा पठनपाठन ठप्प बनेको छ । विद्यालय कर्मचारी परिषद्को आह्वानमा आइतबार जिल्लाका अधिकांश पालिकामा विद्यालय बन्द भएको हो । विद्यालय बन्दले विद्यार्थीको पठनपाठन ठप्प बनेको छ । कतिपय विद्यालयमा विद्यार्थी विद्यालय आएर शिक्षकले फर्काएपछि विद्यार्थी घरमा फर्किएका थिए । विद्यालयजस्तो क्षेत्र बन्द हुँदा हजारौँ विद्यार्थी पढ्नबाट बञ्चित हुनुपरेको छ । विद्यालय कर्मचारीको आन्दोलनमा कारण शिक्षा क्षेत्रलाई गम्भीर असर गर्ने गरी विद्यालय बन्द गरिएको हो । यो बन्दबाट शिक्षक र विद्यार्थीको निहित स्वार्थ पूरा हुने भएपनि सामुदायिक विद्यालयमा पढ्न आम विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड गरेको अभिभावकको भनाई छ । पाल्पाको सदरमुकाम तानसेनसहित अधिकांश पालिकाका सामुदायिक विद्यालयहरू बन्द भएका थिए । विद्यालय बन्द भएपछि आन्दाेलनकाे कार्यक्रम फिर्ता लिएकाे विज्ञप्ति आएकाे थियाे । विद्यालयले नियमित रुपमा पठनपाठन गर्ने बेलामा कर्मचारीको व्यक्तिगत समस्यालाई लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको तानसेनका एक अभिभावकले बताए । विद्यालय शान्ति क्षेत्र भनिएपनि शिक्षा क्षेत्रमा भएको बन्दको समर्थन गरेर शिक्षक संघसंगठनले समेत मजाक गरेको आम अभिभावकको भनाई छ । विद्यालय बन्द भएपछि तानसेन नगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको थियो । विद्यालयका कर्मचारीको आन्दोलनका कारण विद्यालय बन्द गरेकालाई कारबाही गरिने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचलित ऐन, कानुन विपरीत विद्यालय बन्द गरे कानुनअनुसार कारबाही गर्छौै ।’ विद्यालयका कर्मचारीले गरेको आन्दोलनलाई समर्थन गर्दै विद्यालय बन्द गरेपनि विद्यालयका शिक्षक तथा कर्मचारीले बन्दको बेलामा पनि हाजिर गर्ने गरेका छन् । केही पालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएपनि विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारीले विद्यालयमा उपस्थितिको हाजिरी गरेका छन् ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update