तानसेन – लामो रस्साकस्सीपछि तानसेन नगरपालिकाले तानसेन खानेपानी उपभोक्ता समितिलाई हस्तक्षेप गर्ने संकेत गरेको छ । खानेपानी मातहतको निकायलाई पत्र लेखेर नगरपालिकाले अबैध उपभाेक्ता समितिकाे काममा हस्तक्षेप गर्न थालेको हो ।
वर्षौदेखि साधारणसभा र अधिवेशनबिनै संचालन भएको उपभोक्ता समितिले आफूखुसी अधिवेशन गर्न लागेको भन्दै तानसेन नगरपालिकाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई पत्र लेखेर तत्काल तदर्थ समिति घोषणा गरी सहयाेग गर्न भनेको छ ।
तानसेन नगरकार्यपालिकाको २०८० जेठ ३१ गते बसेको बैठकले कार्यालयलाई खानेपानी उपभोक्ता समिति तदर्थ समिति घोषणा गर्न आग्रह गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार नगरपालिकाले उपभोक्ता समिति अबैध रुपमा संचालन भएको र समितिको विधान संविधान, ऐन कानुन विपरीत रहेको नगरपालिकाले जिकिर गरेको छ ।
उपभोक्ता समितिले कुनै पनि निकायबाट विधान प्रमाणित नगरी आफूखुसी विधान परिवर्तन गरेको र कार्यकाल थपेको नगरपालिकाले पत्रमा उल्लेख गरेको छ ।
खानेपानी उपभोक्ता समितिले भने केही महिनाअघि तानसेन नगरपालिकालाई उपभोक्ता समितिको निर्वाचन प्रक्रिया अघि बढाउन जिम्मेवारी दिएको थियो । तर नगरपालिकाले पुरानो विधान अनुसार निर्वाचन गर्न नसक्ने भनेपछि निर्वाचन प्रक्रिया एक्कासी स्थगित गरेको थियो ।
नगरपालिकाले निर्वाचन स्थगित गरेपछि उपभोक्ता समितिले वकिलहरूको संस्था नेपाल बार एशोसिएसनलाई निर्वाचन गर्न आग्रह गरेको थियो । वारले भने निर्वाचन नगरी सर्वदलीय छलफल अगाडि बढाएको छ ।
तानसेनको खानेपानी समस्या समाधान गर्न कालीगण्डकीको खानेपानी आयोजना अघि बढेको छ । दुई वर्षअघि नै सकिनुपर्ने उक्त आयोजना समेत अलपत्र जस्तै छ । यो आयोजना हालसम्म पनि सफल हुन सकेको छैन । झण्डै ५० करोड रुपियाँ खर्च गरेर आयोजनाको काम भएको समितिले जनाएको छ ।
समितिका केही पदाधिकारीबीच पद हत्याउने र सोही पदमा टाँसिरहने महत्वाकांक्षाका कारण तानसेनमा खानेपानी समस्या झन गहिरिदो छ । पाल्पा जिल्लामा क्रियाशील राजनैतिक दल र तानसेन नगरपालिकाले समेत अबैध उपभोक्ता समितिलाई ढाकछोप गरेको आरोप उपभोक्ताले लगाउने गरेका छन् । उपभाेक्ताले समेत नगरपालिकालाई हस्तक्षेप गरेर खानेपानीकाे जिम्मेवारी लिन नगरपालिकालाई सुझाउँदै आएका छन् ।
हेर्नुहाेस् नगरपालिकाकाे पत्र
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० २१:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय