Erani Mahal
रामपुरमा सहकारीको सुचना प्रणाली व्यवस्थापन सम्बन्धि ३ दिने तालिम शुरु
Ra
पाल्पा, सहकारीहरुको सुचना प्रणाली व्यवस्थापन सम्बन्धि ३ दिने तालिम रामपुर नगरपालिकामा विहिबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारी संस्थाका व्यवस्थापकहरुका लागि कोपोमिस सम्बन्धि तालिम दिईएको हो । तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्रका सहकारी संस्थाहरुको विकास र प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । सहकारीको प्रवद्र्धन मात्र नभई अनुगमन , नियमन गर्ने अधिकार स्थानीय तहको भएको भन्दै नियमसंगत तवरले संचालन गर्न आग्रह गर्नुभयो । साथै सहकारीको मापदण्ड अनुसार सञ्चालन नभएका सहकारीलाई खारेजी सहित कारवाही गर्ने चेतावनी दिनुभयो । कोपोमिस कार्यक्रमले सहकारीहरुको संचालनको अवस्था , आर्थिक कारोबार , जनताको आर्थिक अवस्था बारे तथ्याङ्क लिन सजिलो हुने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले सहकारीहरुको सही सुचना प्रणाली व्यवस्थापनका लागि कोपोमिस तालिमको आयोजना गरिएको बताउनुभयो । साथै सहकारीको सही व्यवस्थापनका लागि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रारम्भिक तालिम प्रदान गरिएको बताउनुभयो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल , जिल्ला सहकारी संघ पाल्पाका अधयक्ष भुपति पाण्डेले बोल्दै तालिम सफलताको शुभकामना दिनु भएको थियो । तालिममा रामपुर नगरपालिकालाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेका २० वटा सहकारी संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण तानसेन नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रकाश गैरेले गर्नु भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको ३ दिने तालिम उद्घाटन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक दुर्गा देवि भण्डारी गौतमको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन नगर प्रेस सल्लहाकार दानु हिस्की मगरले गर्नु भएको थियो । तालिम यही असार २ गते शनिबार सम्म चल्ने छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update