Erani Mahal
माथागढी गाउँपालिकाका शिक्षकहरुलाई ५ दिने सूचना प्रविधि सम्बन्धि तालिम
r
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई ५ दिने सूचना प्रविधि सम्बन्धि तालिम दिन सुरु गरिएको छ । मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत माथागढी गाउँपालिका भित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत प्रअ, लेखा शिक्षक, शिक्षकलाई तालिम दिइएको हो । तालिम उद्घाटन गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले गाउँपालिकाले पालिका भित्रको विद्यालयलाई सूचना प्रविधिमार्फत पेपरलेस सिस्टममा लैजाने योजना रहेको बताउनुभयो । उहाँले देश विकासको दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शैक्षिक, भौतिक र समग्र सुधारमा पालिकाले योजना बनाएको र सोही अनुसार कार्यगर्न शिक्षकहरुलाई निर्देशन दिनुभयो । स्रोत र साधन हुँदा हुँदै पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको तर्फ चिन्ता व्यक्त गर्दै अध्यक्ष चिदीले शैक्षिक नतिजा वृद्धि र गुणस्तर अभिवृद्धिमा सूचना प्रविधि तालिमले सहयोग गर्ने बताउनुभयो । यस्तै वडा नं. ४ का वडा अध्यक्ष शंकर दर्लामीले शिक्षकले सूचना प्रविधि, इमिस, कर्मचारी संचयकोष, नागरिक लगानी जस्ता दैनिक जीवनमा प्रयोग हुने र अतिउपयोगी तालिम भएकाले सबैले निरन्तरता सीप सिकेर विद्यालयमा गएर अरुलाई समेत सिकाउन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले सीप सिक्नुमात्रै ठूलाे कुरा नभएर व्यवहारमा उतारेमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयाे । तालिममा प्रशिक्षक जीवन आचार्यले अहिलेको अवस्थामा पनि शिक्षकले हातले लेखेर चिठि पत्र बनाउने अवस्था रहेको भन्दै त्यसको अन्त्यको लागि तालिम सहयोगी हुने बताउनुभयो । तालिममा जीव आचार्य, यादव परियार र अर्जुन कार्कीले सूचना प्रविधि, इमिस, कर्मचारी संचयकोष, नागरिक लगानी अनलाइन दर्ताको सम्बन्धमा सहजिकरण गर्नेछन् । कार्यक्रममा शिक्षा संयोजक प्रेम बहादुर बारघरेले शिक्षकले सिकेको सीपलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । कार्यक्रम शिक्षा संयोजक प्रेम बहादुर बारघरेको अध्यक्षता र शिक्षा सहायक अमृत अधिकारीको संचालनमा भएको थियो । तालिम असार ३ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update