पाल्पा – अत्यधिक गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि पाल्पाको रामपुरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । जेठ २९ गतेदेखि असार १ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको रामपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
गर्मीका कारण विद्यार्थी प्रभावित भएकाले अभिभावक तथा सरोकारवालाको माग अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विकल काफ्लेले जानकारी दिनुभयो । वर्षे र हिउँदे विदा मिलान हुने गरी हाललाई पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
गर्मीका कारण रामपुर नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरी विद्यालयहरू सञ्चालनमा कठिनाई भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको काफ्लेले बताउनुभयो । रामपुरमा १५ हजार बढी विद्यार्थी अध्ययन्रत छन् । रामपुर क्षेत्र पाल्पाको सबैभन्दा गर्मी हुने क्षेत्र मानिन्छ ।
शिक्षा शाखाले गर्मीको मौसममा विद्यालयहरूबाट निरन्तर तातो हावा तथा लूबाट बन्च सन्देशमुलक सूचना प्रवाह गर्न आग्रह गरेको छ । पाल्पामा गत वर्षभन्दा तीन डिग्रीसम्म बढी तापक्रम मापन गरिएको छ । विगत वर्षहरूमा तानसेनको तापक्रम ३४ डिग्रीसम्म पुग्ने गरेकोमा यो वर्ष ३६ दशमलब २ डिग्रीसम्म पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० ०७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय