Erani Mahal
प्रजनन् स्वास्थ्य र मुल्य मान्यता सम्बन्धी अभिमुखीकरण
nm
पाल्पा – प्रजनन् स्वास्थ्य र यससम्बन्धी समाजमा रहेका मुल्य मान्यता सम्बन्धी अभिमुखीकरण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । प्रजनन् स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायलाई अभिमुखीकरण गरिएको हो । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले प्रजनन् स्वास्थ्यका बारेमा आम युवायुवती तथा किशोरकिशोरीलाई शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले प्रजनन् अधिकारबारे जानकारी नहुँदा कतिपय मानिसहरूले अहिले पनि असुरक्षित गर्भपतन गर्ने गरेको र त्यसले स्वास्थ्य तथा समाजमा नकारात्मक प्रभाव फैलाएको बताउनुभयो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्व शर्मा, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरी, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानालगायतले प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण जस्ता कार्यक्रमले सही सूचना सम्प्रेषण गर्न सहयोग पुग्ने बताउनुभयो । परिवार नियोजन संघका शाखा प्रवन्धक सोबाकान्त न्यौपाने, स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारी, पत्रकार, युवा, तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य तथा प्रजनन् स्वास्थ्यका बारेमा स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी गराउनुभएको थियो । यस्तै नेपाल परिवार नियोजन संघका शाखा प्रवन्धक सोबाकान्त न्यौपानेले नेपालमा प्रजनन् स्वास्थ्यका बारेमा रहेको कानुनी अधिकार तथा त्यसको प्रयोगका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रजनन स्वास्थ्य अधिकार, विश्वव्यापी मान्यता, नेपाली समाजकाे मान्यता, कानुनी अधिकार तथा समाजमा भएका अभ्यास तथा मान्यताकाे बारेमा जानकारी दिइएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update