Erani Mahal
पाल्पा गाेल्ड कपकाे उपाधि राेड्स चितवनलाई
khel photo
पाल्पा – तानसेनमा जेठ १५ गतेबाट जारी कर्णेल उजिरसिंह पाल्पा गोल्डकप उपाधि रोड्स रामपुर चितवनले चुमेको छ । शनिबार भएको फाइनल खेलमा रोड्स चितवन रामपुरले २–० गोलले होराइजन फुटबल क्लब स्याङ्जालाई पराजित गरेको हो । फाइनल खेलको पहिलो हापको तीन मिनेटभित्रै चितवनका बिक्की चाम्लिङ राइले गोल गरेर चितवनलाई अग्रता दिलाए । दोश्रो हापको चार मिनेटभित्रै पेनाल्टी पाएको चितवनलाई जित पक्का बनाउने मौका मिल्यो । दोस्रो गोल चितवनका बिक्की चाम्लिङ राइले गरे । उपाधि बिजेता चितवनले नगद तीन लाख र पाल्पाली करुवा पुरस्कार प्राप्त ग¥यो । उपबिजेता बनेको स्याङ्जाले एक लाख ५० हजारमा चित्त बुझायो । म्यान अफ दि म्याच राई घोषित भए । उनले नगद तीन हजार पाए । विजेता र उपविजेता टोलीलाई प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र पुटबल सङ्घका जिल्ला अध्यक्ष प्रणयजंग राणाले नगद सहित सम्मान गरे । नगरप्रमुख श्रेष्ठले पाल्पामा फुटबल खेलको सम्भावना भएपनि विभिन्न कारणले खेल सञ्चालन गर्न नसकेको बताए । जिल्लाको विभिन्न स्थानमा विविध खालका खेल प्रतियोगिता गर्न सकिने उनले बताए । लुम्विनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले तानसेनमा रात्रीकालीन खेल गतिविधि सञ्चालन गर्न सकिने धारणा राखे । तराईँका जिल्लामा गर्मी मौसममा खेल गतिविधि गर्न अप्ठेरो हुने तर तानसेनमा जुनसुकै समयमा खेल गतिविधि सञ्चालन गर्न सकिने उनले बताए । खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । फाइनल खेल हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update