Erani Mahal
पाल्पा अस्पताल सुधारका लागि अन्तरक्रिया कार्यक्रम
aspatal1
पाल्पा – पाल्पा अस्पताल सुधारका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । पाल्पा अस्पताल व्यवस्थापन समितिको आयोजनामा पाल्पाका पत्रकारहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुँरास आत्रेयले पाल्पा अस्पताललाई आम नागरिकको अस्पताल बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । जनताले सहज रुपमा सर्वसुलभ र गणस्तरीय सेवा पाउने अस्पताल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । हामी अशक्त भएका बेला नागरिकले खोज्ने भनेकै सरकारको अस्पताल हो उहाँले भन्नुभयो विगतमा पनि संकटका बेला पाल्पा अस्पतालले नागरिकको जीउज्यान रक्षाको लागि ठूलो भूमिका खेलेको थियो । पाल्पा अस्पतालले नागरिकको सेवाको लागि भवन बनाउन आवश्यक जग्गाको खोजी गरिरहेको अध्यक्ष आत्रेयले जानकारी दिनुभयो । उहाँले अस्पतालले दिने विभिन्न खालका सेवामाबिस्तारै सेवा सुधार हुँदै गएको र पछिल्लो समय बिरामीको चाप बढेको उल्लेख गर्नुभयो । उहाँले ओपिडी सेवा, दन्त सेवा, ल्याब सेवा, फार्मेसी सेवा, इमर्जेन्सी सेवा, विपन्न नागरिकको उपचार सेवा तथा रिफर सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा अस्पतालका निमिक्त मेडिकल सुरपरीटेन्डेन्ट डा. विवेक भण्डारीले पछिल्लो समय अस्पतालको सेवा प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले अहिले पनि दैनिक २३० भन्दा बढी बिरामीको उपचार अस्पतालबाट भइरहेको जानकारी दिनुभयो । उहाँले भवन अभाव, कर्मचारीको व्यवस्थापनमा समस्या देखिएकाले सेवा अझ सोचेजस्तो बनाउन नसकेको बताउनुभयो । अस्पतालसँग भएको पूर्वाधार, जनशक्ति परिचालन गरेर बिरामीलाई सहज उपचार गर्ने व्यवस्था मिलाएको उहाँको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले जनताको सहज सेवाका लागि पहिलो पूर्वाधारको व्यवस्थापन गर्न सुझाव दिनुभयो । बिरामी पहिले भवन हेरेर उपचारका लागि आउने भएकाले तत्काल व्यवस्थित भवन निर्माणमा जोड दिनुपर्ने उहाँको भनाई छ । अध्यक्ष रानाले अस्पतालले दिने सेवा बिस्तारै सुधारउन्मुख रहेकाले थप सुधार गर्नुपर्नेमा जोड दिनुभयो । महासंघका उपाध्यक्ष भरत शर्माले विगतको तुलनामा अस्पतालको सेवा सुधार भएपनि अझै नागरिकले चाहेअनुसारको परिवर्तन हुन नसकेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले कर्मचारीबाट बिरामीले पाउने व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव राख्नुभयो । यस्तै यज्ञमूर्ति तिमिल्सिनाले कहिले काही कर्मचारीको व्यवहारबाट बिरामीले सास्ती बेहोर्नु पर्ने अवस्था सिर्जना भएकाले त्यसलाई सुधार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकारहरू माधव अर्याल, मिलन विश्वकर्मा, विष्णु घिमिरे, अनिल लिगल, विष्णु खनाल, किरण कौशललगायत सुझाव राख्नुभएको थियो । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष आत्रेयको अध्यक्षता र शुसिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update