पाल्पा – एक महिनाको अबधिमा पाल्पाको ५१९ स्थानमा आगलागीका घटना भएका छन् । बैशाख लागेपछि नै जिल्लाका अधिकांश स्थानमा आगलागीका घटनाहरू भएको हो ।
जिल्लाको तिनाउमा १०१, माथागढीमा ९३, पूर्वखोलामा ७६, रैनादेवी छहरामा ७५ स्थानमा आगलागी भएको छ । यस्तै रिव्दीकोटमा ५८, निस्दीमा ५३, रामपुरमा ३७, तानसेनमा १५, रम्भामा आठ र बगनासकालीमा तीन स्थानमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
मानिसका सामान्य लापरबाहीले नै जिल्लाभर नै आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । गत वर्ष यो अबधिमा पाँच स्थानमा मात्र आगलागी भएको थियो तर यो वर्ष आगलागीका घटना अत्याधिक बढेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत उपेन्द्र अर्यालले बताउनुभयो ।
मानिसले हरियो घाँसको लोभमा खरबारीमा आगो लगाउँदा, वनजङ्गलका वन्यजन्तु, दुम्सी, बाँदर, लोखर्केआदिलाई भगाउने नाममा वनमा आगो लगाउने प्रचलन छ । यतिमात्र होइन पछिल्लो समय ग्रामीण क्षेत्रमा चितुवा, भालु, वनबाख्रालगायतका बन्यजन्तुबाट आक्रमण बढेका कारण पनि मानिसले वनमा आगो लगाउने गरेको अर्यालको भनाई छ ।
वनमा नजानेर भन्दा पनि जानाजान आगो लगाउने क्रम बढेको उहाँको भनाई छ । मानिसकै कारणले वनमा आगो लाग्दा अत्याधिक क्षति भएको वन कार्यालयको भनाई छ । डिभिजन वन कार्यालय पाल्पाका अनुसार यो वर्ष जिल्लाभरका ८७ वटा वनका ५१९ स्थानमा आगलागी भएको तथ्याङ्क छ । सबैभन्दा बढी ८३ वटा सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो । यो एक महिनाको अबधिमा तीन वटा निजी वन र एउटा धार्मिक वनमा समेत आगो लागेको उहाँले बताउनुभयो ।
भट्टराईका अनुसार पाल्पामा हालसम्म आगलागीबाट एक हजार ६८५ हेक्टर वन क्षेत्र सखाप बनेको छ । गत वर्ष यही अबधिमा एक सय हेक्टर भन्दा कम वनमा आगो लागेको थियो । पानी नपर्ने हो भने अझैँ डढेलो र आगलाागीका घटना बढ्ने निश्चित छ ।
मानिसकै कारणले यो वर्ष जिल्लाभर नै आगलागी भएको र केही स्थानमा बस्तीमा समेत प्रवेश गरेको वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । आगोलागीबाट वन क्षेत्रमा भएको क्षतिको भने हालसम्म विवरण आइसकेको छैन । वनमा रहेका रुख, काठ, दाउरा, वन्यजन्तुको मृत्यु, तिनका बासस्थान तथा तिनका हुर्कन बाँकी रहेका जीवजन्तुको भने तथ्याङ्क सङ्कलन हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले यो वर्ष हालसम्म १८ स्थानमा आगलागी भएको जनाएको छ । आगलागीबाट १३ घर र १० गोठमा आगलागी भएको छ भने हालसम्म मानिसको मृत्यु नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय