Erani Mahal
पाल्पाकाे प्रभास ताल क्षेत्रकाे जग्गा कित्ताकाट नराेक्न आदेश
Pravas tal photo (7)
तानसेन – ऐतिहासिक प्रभास ताल क्षेत्रको जग्गा कित्ताकाट नरोक्न उच्च अदालत तुल्सीपुरले आदेश गरेको छ । पाँच वर्षअघि तानसेन नगरपालिकाले प्रभास ताल क्षेत्रको जग्गाको कित्ताकाट रोक्ने निर्णय गरेको थियो । उक्त क्षेत्रको जग्गा सिमसार क्षेत्रमा पर्ने भएकाले कित्ताकाट रोकेर जग्गाको संरक्षण गर्नुपर्ने निर्णय नगरपालिकाले गरेको थियो । प्रभास ताल वरपर रहेका व्यक्तिका जग्गा कित्ताकाट गरेर सिमसार क्षेत्रमा घडेरी प्लटिङ् गरिएको थियो । घडेरी प्लटिङ् गर्दा सिद्धार्थ राजमार्ग क्षेत्रको माटो ताल क्षेत्रका सिसार जग्गाा पुरिएको थियो । ताल पुरिएको र सिमसार क्षेत्र नष्ट भएको भन्दै नगरपालिकाले जग्गा कित्ताकाट गर्न नदिने र मालपोत तथा नापीमा सिफारिस नगर्ने सम्बन्धित निकायमा परिपत्र गरेको थियो । तर उच्च अदालतले प्रभास ताल क्षेत्र वरपर रहेका १७ वटा कित्ता जग्गाको कित्ताकाट नरोक्न आदेश गरेको छ । उच्च अदालतका न्यायधीश किरण पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलाशले प्रभास क्षेत्रमा व्यक्तिको नाममा रहेका १७ वटा कित्ताको जग्गा कित्ताकाट नरोक्न नगरपालिकाको नाममा आदेश गरेको हो । तानसेन नगरपालिकाले पाँच वर्षअघि गरेको निर्णयको विपक्षमा अखण्डप्रसाद बैँजुलगायत नौँ जनाले मुद्दा दायर गरेका थिए । [caption id="attachment_10292" align="alignnone" width="494"] फाइल तस्विर । [/caption] नगरपालिकाले सिमसार क्षेत्रको जग्गा संरक्षण गर्ने भनेर कित्ताकाट, माटो राखेर सिमसार क्षेत्र पुर्ने काम राक्ने निर्णय गरेको थियो । नगरपालिकालका कानुनी सल्लाहकार कृष्ण पराजुलीले उच्च अदालतबाट कित्ताकाट फुकुवा गर्न र सम्बन्धित अन्य कार्यालयलाई समेत आदेशबारे जानकारी दिन नगरपालिकामा पत्र आइपुगेको बताउनुभयो । अदालतको आदेश कार्यान्वयनबारे नगरपालिकामा छलफल भइरहेको उहाँले बताउनुभयो । अदालतको आदेशले ऐतिहासिक प्रभास ताल क्षेत्रको जग्गा घडेरीमा परिणत हुने स्थानीय बासिन्दाले आशंका गरेका छन् । प्रभास ताल क्षेत्र वर्षौदेखि कमल पोखरीका रुपमा रहेको थियो । अब उक्त क्षेत्रको सिमसार जग्गा पुरिने र घडेरी बन्ने सम्भावना रहेको स्थानीय बासिन्दाको भनाई छ । प्रभास ताल क्षेत्रमा जिल्ला समन्वय समिति, पाल्पाको नाममा ३४ रोपनी जग्गा छ । त्यसबाहेक पोखरी रहेको क्षेत्र पनि व्यक्तिको नाममा रहेकाले सिमसार क्षेत्र मासिन सक्ने स्थानीय बासिन्दाको भनाई छ । पाँच वर्षअघि सिमसार क्षेत्रको जग्गा पुरिएको भनेर समाचार लेख्ने पत्रकारले धम्की समेत बेहोर्नु परेको थियो । पछिल्लो समय प्रभास ताल क्षेत्रमा बजार बिस्तार हुने क्रम बढेको छ । यसले प्रभास ताल क्षेत्रमा फोहोर पानी तथा अन्य प्लास्टिकजन्य सामग्री थुप्रिने क्रम बढेको छ । त्यसलाई समेत तत्काल हटाउन जिल्ला समन्वय समितिले पत्र लेखेको छ । तानसेन नगरपालिकाले भने प्रभास क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखेको वडा नं. ७ का अध्यक्ष प्रदीप खनालले बताउनुभयो । उहाँले भन्नुभयो, प्रभास तालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई तान्ने हाम्रो योजना छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update