पाल्पा - जिल्लाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा गएराति मृत्यु भएको हाे ।
मृत्यु हुनेमा
अर्घाखाँची जिल्ला पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार,
साेही स्थानका २६ वर्षीय चालक रमेश विक,
पाणिनी–२ पोखराथोककी २५ वर्षीया सिता गौतम
अर्घाखाँची पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतम
४४ वर्षका विजय पोखरेल
रहनुभएकाे छ । गौतमको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा र पोखरेलको चौराहा अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–४, धरमपानी बस्ने ७ वर्षका समीर पाण्डेय, सोही स्थानका १० वर्षका अनुप सोमरे, पाल्पा जिल्ला तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षकी आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षकी लक्ष्मी पोखरेल गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते चार जनाको उपचार भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै अर्घाखाँची जिल्ला पाणिनी–१, का ६६ वर्षका रामबहादुर विक, सोही स्थानका ६ वर्षका संयोग गौतम, सोही स्थानकी ५ वर्षकी पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षका सोलिन परियार घाइते हुनुभएको छ । यस्तै गुल्मी जिल्ला रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षका सार्थक ज्ञवाली पनि घाइते हुनुभएको छ । उनीहरूको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
पाणिनी–१, अर्घाखाँचीका ४० वर्षका हरि गौतम समेत गम्भीर घाइते हुनुभएको छ । गौतमको बुटवलस्थित चौराहा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयाे ।
आइतबार बेलुकी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप साढे ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । जिप माथिल्लो सडकदेखि ८० मीटर तल सडकमा खसेको थियो ।
ओभरलोडका कारण घुम्तीमा जिप व्याक भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । पाँच जनाको मात्र सीट क्षमता भएको जिपमा १५ जना सवार थिए । जिपमा मानिससँगै खाद्यान्नलगायतका सामग्री समेत ढुवानी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्व शर्माले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० ०८:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय