Erani Mahal
गणतन्त्र दिवस : अन्तरसंवाद कार्यक्रम, कार्यशैली सुधार गराैँ
mms
पाल्पा – गणतन्त्र दिवसको अवसरमा सोमबार तानसेनमा आयोजित अन्तरसम्वाद कार्यक्रममा सहभागी वक्ताहरूले जिम्मेवार निकायका व्यक्तिले कार्यशैली सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गणतन्त्र आफैँमा नराम्रो व्यवस्था नभएपनि शासन गर्ने मानिसका कारण मानिसमा नैरास्यता आएको दावी गर्नुभयो । उहाँले अहिले व्यवस्था फेर्ने भन्दा पनि मानिसको कार्यशैलीमा भएको गल्तीकमजोरी सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो । संविधानसभाका सदस्य नारायणी शर्मा घिमिरेले गणतान्त्रिक व्यवस्थाबाट आम नागरिकले समान अधिकार पाउने व्यवस्था ल्याएपनि कार्यान्वयनमा चुनौती देखिएकाले सबै सचेत हुने बेला आएको बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विभिन्न देशहरूको अनुभवमा गणतान्त्रिक व्यवस्था उत्तम व्यवस्था भएपनि त्यसलाई संस्थागत गर्ने कुरामा ध्यान नपुगेको बताउनुभयो । प्रजिअ बास्तोलाले व्यवस्थाको दोष भन्दा पनि प्रणालीमा देखिएको समस्यालाई समाधान गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । यस्तै जिल्ला यस्तै नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले सबैभन्दा पनि राज्यका निकाय र जनप्रतिनिधिबाट सुधारको आवश्यक रहेकोमा जोड दिनुभयो । जिल्लाका समस्या समाधान गर्ने शैलीमा पनि आफूहरु समीक्षा गरेर अगाडि बढ्न तयार रहेको उहाँको भनाई छ । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य गिरिजा गैरे यही शासन व्यवस्थाले नै महिला तथा पछि परेका समुदायलाई अधिकार स्थापित गरेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले गणतन्त्रपछि मुलुकमा धेरै परिवर्तन भएपनि मानिसले नकारात्मक विषय उठान गरेको बताउनुभयो । पूर्वसांसद यादवबहादुर रायमाझीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । यस्तै नेकपा एकीकृत समाजवादी पाल्पाका सचिव मोहनलाल गैरेले नेतृत्वबाट नै सुधारका काम गर्नुपर्ने उल्लेख गर्नुभयो । रास्वपाका जिल्ला सचिव सुमन गैरेले ठूला दलका नेताका कारण समस्या सिर्जना भएको बताउनुभयो । राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कँवरले व्यवस्था यो वा त्यो भन्ने भन्दा पनि जनताको निर्णय सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले अहिलेको व्यवस्थामा पछि फर्कने नभई थप उन्नत व्यवस्थामा अघि बढ्नुपर्ने आवश्यता औल्याउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले भएका उपलब्धीलाई संस्थागत गर्दै काम गर्ने निकायहरू सच्चिएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । यस्तै प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले स्थानीय तहमा बेतिथिको चाङ् बढेर गएको बताउनुभयो । कार्यक्रम समन्वय समितिका प्रमुख खनालको अध्यक्षता, उपप्रमुख काशिका गैरेको स्वागत र समन्वय अधिकारी जनार्दन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update