Erani Mahal
तानसेनमा पाल्पा गाेल्ड कप सुरू, आजकाे खेलमा पाल्पा-११ विजयी
350269590_238728615526540_8571455522111044532_n
पाल्पा - कर्णेल उजिरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता सोमबारबाट तानसेन टुँडिखेलमा सुरु भएको छ । उद्घाटन खेलमा पाल्पा–११ ले रूपन्देहीको लिस्नु क्लबलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पाल्पा ११ का लागि दुबै गोल आशिष रानाले गरेका छन् । खेल सुरु भएको १२ औं मिनेटमा आशिषले पहिलो गोल गरेर पाल्पा ११ लाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ९ मिनेटमा पुनः पाल्पा–११ का आशिषले नै अर्को गोल थपेर टिमलाई जिताउन सफल भए । खेल अवधिभर लिस्नुले एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमै पाल्पाका मनिष गाहाले ३९ मिनेटमा पहेलो कार्ड पाएका थिए । लिस्नु क्लब रुपन्देही पहिलो हाफमा रक्षात्मक खेलेको थियो । दोस्रो हाफमा आक्रामक खेलेको लिस्नु गोल गर्नबाट चुक्यो । पाल्पा–११ का सन्दीप केसी ६ र सुरज रन्जनले ४२ मिनेटमा पहेँलो कार्ड पाए । पहिलो खेलमा म्यान अफ द म्याच घोषित आशिषले नगद ३ हजार पाए । उनलाई तानसेन नगरपालिकाकी नगरउपप्रमुख प्रतिक्षा गाहा सिंजाली र पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले नगद हस्तान्तरण गर्नुभयाे । राना यसअघि काठमाडौको ‘बि’ डिभिजन क्लब सामाजिकबाट खेलेका थिए । मंगलबारको खेल रुपन्देही ११ र नवलपरासी पुर्वको २८ बिघा बीच हुने आयोजक पाल्पा जिल्ला फुटबल संघले जनाएको छ । लिस्नुलाई उद्घाटन खेलमा पराजित गरेको पाल्पा १९ गते शुक्रबार फोर ब्रदर्स नवलपरासी पश्चिमस“ग खेल्नेछ । प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा पाल्पा र लिस्नुसहित फोर ब्रदर्स नवलपरासी (पश्चिम), रोड्स रामपुर एफसी चितवन, गार्डेन फुटबल क्लब पोखरा, वीर गोर्खाली लखनउ भारत छन् । समूह ‘बी’ मा रूपन्देही–११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङजा, स्वयम्भू युथ क्लब काठमाडौं, विष्णुपादुका युथ क्लब पोखरा र दी फेमस महिन्द्र दल गण पाल्पा छन् । समूह ‘ए’ मा रोड्स रामपुर र गार्डेन पोखराबीचको विजेताले वीर गोर्खालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तानसेनमा सुरु प्रतियोगिताको प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले उद्घाटन गर्नुभयाे । उहाँले पाल्पा गोल्ड कपलाई आगामी वर्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतियोगिता तालिकामा पार्न सुझाव दिनुभयाे । उहाँले प्रदेश खेलकुद परिषद्, लुम्बिनीबाट नीति, नियम, ऐन, कानुनले मिलेसम्म सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभयाे । नकआउटको आधारमा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ, ट्रफि पाल्पाली करुवा, मेडल, प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष राणाले बताउनुभयाे । प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याचले ३ हजार पाउने उहाँले बताउनुभयाे । विद्यागत उत्कृष्टले जनही ६ हजार पाउनेछन् । उद्घाटन कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले लामो समयपछि भएको फुटबल प्रतियोगिताप्रति सबैको चासो देखिएको बताउनुभयाे । एन्फा पाल्पाका अध्यक्ष राणाको अध्यक्षता, उपाध्यक्ष मनोज लिगलको स्वागत र पत्रकार विन्दु थापाले संचालन गरेकी गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update