पाल्पा – राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले विदेशी हस्तक्षेप नांगो रुपमा देखिएको बताउनुभएको छ । आइतबार तानसेनमा पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपाध्यक्ष पौडेलले नेपालमा अमेरिकासहितको देशको खुलेआम हस्तक्षेप बढेको जिकिर गर्नुभयो । उहाँले अमेरिकी हस्तक्षेपको बिरोध गर्दै जनमोर्चाले मेची महाकाली अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
एससीसी परियोजना नेपालमा अमेरिकी हस्तक्षेप बढाउने गरी आएको उहाँको जिकिर छ । अहिले नेपालमा अमेरिकाको निर्देशनमा पार्टी पनि गठन भएको दावी गर्नुभयो । उहाँले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी निर्देशनमा गठन भएको पार्टी भएको दावी गर्नुभयो । रास्वपा कुनै विचार, सिद्धान्त र उद्देश्यका लागि भन्दा पनि अमेरिकीहरुको स्वार्थमा काम गर्नका लागि गठन भएको पार्टी हो उहाँले भन्नुभयो ।
उहाँले विदेशी हस्तक्षेप विगतमा पनि रहेको थियो तर अहिले विदेशी खासमा अमेरिकाको हस्तक्षेप बढ्यो त्यसैले जनतामा सचेतना फैलाउन जनमोर्चा लागेको छ । जनताले विस्तारै अमेरिकी हस्तक्षेपका बारेमा बुझ्दै गएको उपाध्यक्ष पौडेलको भनाई छ ।
वर्तमान आर्थिक संकटको समाधानका लागि प्रादेशिक सरकारको व्यवस्था खारेज गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । प्रदेश खारेज गरेर मात्रै आर्थिक संकटलाई समाधान गर्न सकिने उहाँको विचार रहेको छ । उहाँले अब देश राजतन्त्रमा फर्किन सम्भव नरहेको भन्दै बरु अग्रगमनतर्फ जानुपर्नेमा उहाँको जोड थियो ।
मेचीमहाकाली अभियान नेपालको वीरेन्द्रनगरबाट सुरु भएर आइतबार पाल्पा आइपुगेको अभियानका संयोजक समेत रहनुभएका पौडेलको भनाई छ । पत्रकार सम्मेलन राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० २१:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय