Erani Mahal
तानसेन-हार्थाेक छहरा सडक क्षतविक्षत, यात्रुलाई सास्ती
khadeye ad F
पाल्पा – जिल्लाको पश्चिम भेगमा जाने मुख्य सडकको रुपमा रहेको तानसेन–हार्थोक–छहरा सडक जीर्ण बनेको छ । सात वर्षदेखि सडकको मर्मतसुधार हुन नसक्दा जिल्लाको पश्चिम भेग जाने ३० किलामिटर सडकको अवस्था नाजुक बनेको छ । लुम्विनी प्रदेश सरकारले लामो समयसम्म मर्मतसुधारमा ध्यान नदिँदा सडक अहिले धुलाम्ये बनेको स्थानीय यात्रुहरूको गुनासो छ । वर्षात्को समयमा सडक हिलाम्य बनेर हिड्नै नसकिन अवस्था रहन्छ । तत्कालिन जिल्ला विकास समितिले डेढ दशकअघि उक्त सडक ओटासिल गरेको थियो । त्यसपछि तत्कालित जिल्ला प्राविधिक कार्यालयले मर्मतसुधार गर्दै आएको थियो । तर हाल उक्त सडकखण्ड प्रदेश सरकार मातहतमा गएपछि यो सडकको मर्मत हुन नसकेको रैनादेवी छहरा–४, का स्थानीय बासिन्दा नित्यानन्द पोखरेलले गुनासो गर्नुभयो । सडक बिग्रिएर हिड्नै नसक्ने अवस्था भएपनि लामो समयसम्म मर्मतमा कसैको ध्यान नपुगेको पोखरेलको भनाई छ । दुई वर्षअघि सांसदको पूर्वाधार विकास योजना अन्तर्गत सडक फराकिलो पार्ने काम भएको थियो । तर त्यतिबेला पनि सडक कालोपत्रे गर्ने भन्दा पनि भएको कालोपत्रे सडक बिगार्ने काम मात्र भएको यस भेगमा यात्रा गर्ने यात्रुहरूको भनाई छ । कालोपत्रे गर्न भनेर सडक फराकिलो बनाएपनि भएको कालोपत्रे सडक बिग्रिएर डिँड्नै नसक्ने अवस्था बनेको स्थानीय बासिन्दा विकास कुँवरले गुनासाे गर्नुभयाे । सडक बिग्रिएर सबैभन्दा सास्ती मोटरसाइकल स्कुटीमा यात्रा गर्नेलाई समस्या भएको उहाँले बताउनुभयो । सडक लामो समयसम्म मर्मतसुधार हुन नसक्दा यात्रुले सास्ती भोगेको प्रदेश सरकार मातहत रहेको कार्यालयका प्रतिनिधिले समेत स्वीकार गर्छन् । प्रदेश सरकारले यो सडकखण्डलाई रामपुर–कपुरकोट सडक अन्तर्गत योजनामा समावेश गरेर सडक सुधारको योजना अघि सारेका कारण मर्मतसुधारमा ढिलाई भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । यो सडकलाई प्रदेश सरकारले गौरवको योजनामा समावेश गरेकाले केही समयपछि सडकको स्तरउन्न्ति हुने कार्यालयका प्रमुख अरुण गुप्ताले बताउनुभयो । तर याे वर्षदेखि भने याे सडकखण्ड संघीय सरकार मातहतकाे सडक विभागले हेर्ने निश्चित भएकाे बताइएकाे छ । यद्यपी बजेट नपर्दासम्म याे सडककाे अवस्था सुधार हुने अवस्था देखिदैन । याे सडकखण्ड अन्तर्गत पर्ने रिव्दीकाेट गाउँपालिकाले कार्यालय नजिकैका केही स्थानमा गरेकाे गुणस्तरहीन कालाेपत्रे तीन महिनामै भत्किएकाे छ । रैनादेवी छहरा गाउँपालिकाले भने याे सडक बनाउनमा खासै ध्यान दिएकाे छैन । दुइ वटा पालिकाले विशेष प्राथमिकतामा राखेर याे बाटाेलाइ सुधार गर्न सक्ने भएपनि यी दुइ पालिकाकाे समेत महत्वपूर्ण सडक बनाउनमा ध्यान नपुगेकाे स्थानीय बासिन्दाकाे भनाइ छ । जिल्लाको पश्चिम भेग रिव्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका विभिन्न वडा तथा गुल्मी र अर्घाखाँचीका बासिन्दासमेत यो सडक भएर यात्रा गर्दछन् । तर सडकको अवस्था नाजुक बन्दा हजारौँ यात्रुहरूले सास्ती बेहोर्न बाध्य भएका छन् । जिल्लाका जनप्रतिनिधिले समेत यो सडकलाई भन्दा साना योजनालाई मात्र प्राथमिकता दिने गरेको यात्रुहरूको बुझाई छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update