पाल्पा – जिल्लाको रम्भा गाउँपालिका–४, हुमिनका बासिन्दा वर्षौदेखि खानेपानीको समस्या भोग्न बाध्य भएका छन् । हुमिनको आँखरथोक, बीचहुमिन र तल्लो हुमिनका एक सय घरपरिवार एक दशक बढी समयदेखि खानेपानीको समस्याबाट पीडित बनेका हुन् ।
वर्षौदेखि खानेपानीको समस्या भएपछि यहाँका बासिन्दा बसाइसर्न बाध्य भएको उनीहरू बताउँछन् । लामो समयसम्म खानेपानीको व्यवस्था हुन नसक्दा बसाइ सर्ने परिवारको सङ्ख्या बढ्दै गएको स्थानीय बासिन्दा खगेन्द्रदेव विश्वकर्माले बताउनुभयो । ‘पानीको समस्या भएको वर्षौ बितिसकेको छ उहाँले भन्नुभयो गाउँ काकाकुल भयो, मान्छेहरू बसाइ सरेर अन्त जान थाले ।’ खानेपानीको योजना सञ्चालन भएपनि दश वर्षमा पनि योजना सम्पन्न हुन नसकेको उहाँको भनाई छ ।
४३ वर्षअघि पाँच किलोमिटर टाढा पूर्वखोला गाउँपालिकाको देवीनगरस्थित चिर्तुङ्बाट यहाँ खानेपानीको व्यवस्था हुँदै आएको थियो । तर उक्त पानी अहिले सुकेर यहाँका एक सय घरधुरीलाई पानी पुग्दैन । सानो आएको पानी पनि सडक खन्दा बिग्रिएपछि पानीको समस्या झन बढेको स्थानीय मनकुमारी विश्वकर्माले बताउनुभयो । ‘पुरानो योजनाबाट आएको पानी पालैपालो गरेर भएपनि पानी पिउने अवस्था थियो उहाँले भन्नुभयो उक्त योजना सडकको योजनाले बिगारेपछि समस्या झन बढ्यो ।’
यहाँको खानेपानी समस्या समाधानका लागि हुल्दीखोलाको पानी पम्पिङ् गर्ने योजना ११ वर्षअघि अघि बढेपनि उक्त आयोजना अलपत्र जस्तै बनेको स्थानीय बासिन्दाको भनाई छ । पम्पिङ् आयोजनाका लागि लाखौँ रुपियाँ खर्च भएपनि त्यसबाट यहाँका बासिन्दाको घरमा पानी आउन नसकेको उनीहरू बताउँछन् ।
पिउने र बस्तुभाउका लागि पानीको अभाव भएपछि यहाँका बासिन्दाले एक गाग्रो पानीका लागि तीन घण्टा समय गुजार्नुपर्ने बाध्यता बनेको छ । ‘पानीको अभावले धरादी र कुँवादी पधेँरामा गाग्रो बोकेर पानी लिन जानुपर्ने बाध्यता छ जनहित भगवती मावि कक्षा ९ मा पढ्ने पूर्णिमा विश्वकर्मा भन्छिन् घरमा पढ्ने समय पानी बोकेर गएको छ ।’ एक गाग्रो पानीका लागि आउदा, पालो कुर्दा र घर फर्किदा तीन घण्टा बित्ने गरेको उनी बताउँछिन् । पिउने पानीबाट बञ्चित भएका अधिकांश दलित समुदायका बासिन्दा रहेका छन् ।
रम्भा गाउँपालिकाले भने यहाँको खानेपानी समस्या समाधानका लागि काम गरिरहेको जनाएको छ । हुमिनका एक सय बढी घरधुरीलाई नियमित रुपमा पानी खुवाउनका लागि पालिकाले बजेट विनियोजन गरेर काम गरिरहेको वडा अध्यक्ष कृष्णबहादुर रायमाझीले जानकारी दिनुभयो ।
लिफ्टिङ् खानेपानी आयोजना सम्पन्न गर्न उपभोक्ताले रकम उठाउन नसक्दा समस्या भएको उहाँले बताउनुभयो । विजुलीको बिल, पम्प बिग्रदा लाग्ने खर्च र कर्मचारी खर्च उपभोक्ताले व्यवस्थापन गर्न नसक्दा पानी नियमित हुन नसकेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० २१:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय