तानसेन - पाल्पा दरबार परिसरभित्रका रहेका चार वटा सरकारी कार्यालयहरूलाई सार्ने निर्णय गरिएको छ । पाल्पा दरबार परिसरभित्र रहेका बाल मन्दिर, नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रको कार्यालय, राष्ट्रिय अनुसन्धानको कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय सार्ने निर्णय तानसेन नगरपालिकाले गरेको हो ।
पाल्पा दरबार परिसरलाई थप व्यवस्थित बनाउन परिसरभित्र रहेका चार वटा सरकारी कार्यालयहरूलाई स्थानान्तरण गर्ने निर्णय नगरपालिकाले गरेको हो । नगर कार्यपालिकाको गत २०८० बैशाख २७ गते बसेको बैठकले दरबार परिसरभित्र रहेका सरकारी कार्यालयहरू सारेर दरबार परिसरलाई व्यवस्थित बनाउने निर्णय गरिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । पाल्पा दरबार परिसरभित्र रहेका कार्यालयहरूलाई अन्यत्र सारेर त्यस स्थानलाई ऐतिहासिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
दरबार परिसरभित्र ६४ रोपनी जग्गा छ । हाल ती स्थानमा पाल्पा दरबार सङ्ग्राहलय, विद्युत्, जिल्ला समन्वय समिति, बाल मन्दिर, राष्ट्रिय अनुसनधान कार्यालय रहेका छन् । नगरपालिकाले यसअघि दरबार परिसरभित्र रहेका ५७ वटा घरटहरा नगरपालिकाले हटाइसकेको छ । अब परिसरभित्र रहेका सरकारी कार्यालयलाई समेत अन्यत्र सारेर पाल्पा दरबार क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।
नगरपालिकाले सरकारी कार्यालयहरूलाई हटाउनका लागि सहयोग गर्न पुरातत्व विभागलाई समेत आग्रह गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । हाल दरबार परिसरभित्र रहेका कार्यालयलाई कुन स्थानमा स्थानान्तरण गर्ने भन्ने विषयमा भने निर्णय हुन सकेको छैन ।
पाल्पा दरबार परिसरको ऐतिहासिकता कायम गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्न यो वर्ष सङ्घीय सरकारबाट दुई करोड ७३ लाख रुपियाँ बजेट प्राप्त भइसकेको नगरपालिकाले जनाएको छ । उक्त बजेटबाट पाल्पा दरबार परिसरको जीर्ण मूल ढोका मर्मत तथा सुधार गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।
दरबार परिसरलाई व्यवस्थित बनाउन आवश्यक योजना पनि बनाउने तयारीमा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय