Erani Mahal
तानसेनका जनप्रतिनिधिकाे १ वर्ष : तीन महत्वपूर्ण कामकाे थालनी
Tansen-nagarpalika
पाल्पा – तानसेन नगरपालिकाले पछिल्लो एक वर्षको अबधिमा तीन वटा मुख्य काम गरेको छ । एक वर्षअघि धेरैले तानसेन मलमलमा देखियो भन्ने गरेका थिए । तर एक वर्षको अबधिमा तानसेन नगरपालिकाले गरेको कामका आधारमा उसले केही उपलब्धी हासिल गरेको छ । तानसेन नगरपालिकाले एक वर्षको अबधिमा वर्षौदेखि सरकारी जग्गा हडपेर भाडा समेत नतिरेका ५७ घरटहरा हटाएको छ । सुन्दा र सामान्य अर्थमा ५७ वटा घरटहरा हटाएको विषय नकारात्मक सुनिन सक्छ । तर यसले दीर्घकालिन रुपमा पार्ने प्रभाव भने पक्कै पनि सकारात्मक हुने अपेक्षा गरिएको छ । विगतको कर्मचारीतन्त्र र यसअघिका नगरप्रमुखका बेला पनि मख्खनटोलका घरटहरा हटाउने चर्चा नभएको होइन, तर काम भने वर्तमान जनप्रतिनिधिकै नेतृत्वमा सम्पन्न भएको छ । यो कार्यले दरबार परिसरलाई ऐतिहासिक एवं पर्यटकीय स्थलमा रुपमा विकास गर्न सहज बाटो खुलेको छ । यतिमात्र होइन, दरबार परिसरभित्र रहेका कतिपय सरकारी कार्यालयलाई त्यस स्थानबाट स्थानान्तरण गर्न दवाव पुगेको छ । दरबार परिसरभित्रका चार वटा कार्यालय सार्ने निर्णय गरिसकेकाे छ । दरबार परिसरका ५७ वटा घरटहरा हटाउनुले तानसेन नगरपालिकाले पर्यटन र ऐतिहासिकताको क्षेत्रमा केही नयाँ काम गर्न खोजेको छ भन्ने पुष्टि गरेको छ । तानसेन नगरपालिकाले शिक्षा क्षेत्रमा पनि जिल्लामै पहिलो पटक केही सकारात्मक कदम चालेको छ । संविधानले विद्यालय तह कक्षा १२ सम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई सुम्पेको छ । यही अधिकारलाई तानसेन नगरपालिकाले प्रभावकारी कार्यान्वयनमा लैजाने प्रयास गरेको छ । डेढ दुई दशकदेखि विद्यार्थी नभएर खण्डहरमा परिणत भएका नगरका १४ वटा विद्यालयलाई वर्तमान नेतृत्वले समायोजन गर्न हिम्मत गरेको छ । विगतमा शिक्षा कार्यालयले समेत गर्न नसकेको काम यो वर्ष तानसेनले सुरु गरेको छ । तानसेनका १४ वटा विद्यालयमध्ये कतिपयलाई समायोजन, कतिपयलाई कक्षा घटुवा गरेर विद्यालय क्षेत्रको अधिकार नगरपालिकाले प्रयोग गरेको छ । यसले विद्यार्थी नभएर खण्डहरमा परिणत विद्यालयलाई ठीक अवस्थामा ल्याउन सहयोग पुगेको छ । यतिमात्र होइन विद्यालयमा हाजिर गरेर तलबभत्ता खाने शिक्षकको उद्दार भएको छ भने विद्यार्थी संख्या बढी भएका विद्यालयमा शिक्षकको व्यवस्थापन गर्न सहजता आएको छ । पाल्पामा तानसेनले यो काम सबैभन्दा पहिले सुरु गरेको छ । यसले जिल्लाभरिका अन्य पालिकालाई पनि विद्यालय समायोजन गर्न सन्देश दिएको छ । तानसेन नगरपालिकाले एक वर्षको अबधिमा गरेको अर्को उल्लेखनीय काम भनेको राजश्व संकलनमा अपनाएको फरक शैली हो । नगरपालिकाले तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्रमा आफ्नै कर्मचारी राखेर राजश्व संकलन गरिरहेको छ । जसका कारण विगतमा भन्दा चार गुणा बढी राजश्व संकलनमा बृद्धि भएको छ । यसअघि ठेकेदारमार्फत राजश्व संकलन गर्दा श्रीनगरमा ८ लाख र रानीमहलमा १२,१५ लाख राजश्व संकलन हुने गरेको थियो । नगरपालिकाले आफैले राजश्व संकलन गर्दा राजश्वमा हुने चुहावट पूर्ण रुपमा नियन्त्रणमा आएको छ । नगरपालिकाको राजश्व संकलनलाई पारदर्शी बनाएको छ भने राजश्व संकलनमा समेत उल्लेख्य प्रगति गरेको छ । यसबाहेक नगरपालिकाले कृषि, पशुपालनमा अनुदान, विपन्न नागरिकलाई विद्युत् महशुलमा छुट, एकल पुरुषलाई भत्ता वितरणको काम समेत गरेको छ । तर यो काम सबैजसो पालिकाले गर्दै आएका छन् । यसर्थ यस्ता कामको कुनै अर्थ र महत्व रहदैन । तर नगरपालिकाले सुरु गरेको केही कामले भने नगरले पाँच वर्षको अबधिमा केही गर्ने संकेत गरेको छ । पाल्पाका अन्य पालिकाले भने आफूले एक वर्षको अबधिमा के काम गरे भन्न समेत सकेका छैनन् । (समाचार टिप्पणी)
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update