पाल्पा - प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण घटेको छ । पाल्पाका ११ वटा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा अध्ययन् गर्ने विद्यार्थीहरूको सङ्ख्या हरेक वर्ष घट्दै गएको हो ।
जिल्लामा प्राविधिक शिक्षा पठनपाठन गराउने विद्यालयको सङ्ख्या हरेक वर्ष थपिएपनि विद्यार्थीको सङ्ख्या भने घटेको छ । प्राविधिक शिक्षाको महत्व बुझाउन नसक्दा, प्राविधिक शिक्षाको बारेमा अभिभावकमा भएको अन्यौलताले प्राविधिक शिक्षा आर्जन गर्ने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।
पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन् गर्ने विद्यार्थीलाई वैदेशिक अध्ययन् तथा रोजगारीमा समस्या देखिएका कारण पनि यो शिक्षामा आकर्षण कम भएको अभिभावकको बुझाई छ । प्राविधिक शिक्षा पठनपाठनका बारेमा अहिले पनि अभिभावकमा अन्यौलता कायम देखिएको इकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
‘प्राविधिक शिक्षा अध्ययन् गरिसकेपछि त्यसबाट कसरी अगाडि बढ्न सकिन्छ भन्ने स्पष्ट जानकारी अभिभावकहरूमा कम छ उहाँले भन्नुभयो विदेश जाने युवामा पनि प्राविधिक शिक्षा भन्दा साधारण शिक्षा लिने बढी देखियो ।’
पाल्पाका विभिन्न ११ विद्यालयमा हाल प्राविधिक शिक्षा अध्ययन्अध्यापन भइरहेको छ । तीमध्ये कतिपय विद्यालयमा ज्याँदै न्युन सङ्ख्यामा विद्यार्थी रहेको विद्यालयहरूको भनाई छ । यो वर्ष ११ विद्यालयमा प्राविधिक धार अध्ययन् गरिरहेका जम्मा २३९ जना मात्रै विद्यार्थी माध्यमिक शिक्षा (एसइइ)को परीक्षामा सहभागी हुँदैछन् ।
११ वटा विद्यालयले एक शैक्षिक सत्रमा एउटा कक्षामा बढीमा ४४ जनासम्म विद्यार्थी पढाउन पाउने व्यवस्था छ । यो तथ्याङ्कले प्राविधिक शिक्षा पढ्ने विद्यार्थी कोटा ५० प्रतिशत पनि पूरा भएको देखिएन ।
जिल्लामा बाली विज्ञान, कृषि विज्ञान, अटोमोबाइल्स, कम्प्युटर इन्जिनियरिङ्, इलेक्ट्रिकल इन्जिनियरिङ्, इन्जिनियरिङ्, पशुविज्ञानजस्ता प्राविधिक विषयको अध्ययन् भइरहेको छ । तर यी विषयको अध्ययन् गर्ने विद्यार्थी जुटाउन समस्या परिरहेको विद्यालयका शिक्षकहरू बताउँछन् ।
‘केही वर्षअघिसम्म प्राविधिक विषय अध्ययन् गर्न विद्यार्थीको चाप थियो तर पछिल्लो तीन/चार वर्षयता प्राविधिक विषय पढ्ने विद्यार्थी कम भएका छन् तानसेन–५, बन्दीपोखरास्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु सिग्देलले भन्नुभयो ।’ जिल्लाका सबैजसो विद्यालयलाई प्राविधिक विषय अध्ययन् गर्ने विद्यार्थी खोज्न समस्या रहेको उहाँले बताउनुभयो । समग्रमा विद्यार्थी सङ्ख्या कम हुँदा पनि प्राविधिक विषय अध्ययन् गर्ने विद्यार्थी कम हुँदै गएको प्रअ सिग्देलको भनाई छ ।
केही विद्यार्थीहरू कक्षा ९ र १० मा प्राविधिक विषय अध्ययन् गरेपनि एसइइ परीक्षापछि उक्त विषय पढ्न छाड्ने गरेका छन् । प्राविधिक धारतर्फको शिक्षाको अस्पष्टताले बीचमै यो विषय छाडेर अन्य विषय अध्ययन् गर्ने विद्यार्थी बढ्दै गएको शिक्षकहरूकाे भनाइ छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० २१:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय