पाल्पा – माथागढी गाउँपालिका वडा नं. ३ कसेनी सराईमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । चौकीको उद्घाटन प्रतिनिधिसभाका सदस्य नारायण प्रसाद आचार्यले गर्नुभयो । सो अवसरमा आचार्यले माडी क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्युनीकरण हुने बताउनुभयो । अपराध नियन्त्रण गर्ने काम सबै प्रहरीको मात्र नहुने भन्दै उहाँले स्थानीय बासिन्दाको सहयोगमा मात्र अपराधजन्य घटना न्युनीकरण गर्न सकिने बताउनुभयो ।
आचार्यले अस्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा प्रहरी चौकीको भौतिक पूर्वाधारजस्ता काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य खेमबहादुर सारुले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक–प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । शान्ति, सुरक्षा र अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुनुपर्ने सारुले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक हेरम्ब शर्माले चाडवाडको समयमा शान्ति सुरक्षामा विशेष ध्यान दिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीले जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा व्यावसायिक दक्षता देखाउनुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले चौकी स्थापनाले गाउँपालिका भित्रको सुरक्षा प्रबन्ध र स्थानीय जनताको शान्ति सुरक्षामा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाको पहलमा नै चौकी स्थापना भएको बताउँदै अध्यक्ष चिदीले जनता र स्थानीय सरकार सधै प्रहरीको साथमा रहने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले व्यक्तिगत फाइदाका लागि नभएर समाजले पनि सभ्य समाज निर्माणका लागि सामूहिक सोच ल्याउनुपर्ने बताउनुभयो । चौकी स्थापनापछि माथागढी गाउँपालिकाको सराई, खहरे, रुप्से, चिदीपानी, तानसेन नगरपालिकाको दमकडा, तिन्टीआँपलगाएतका जनताले सेवा पाउने वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले बताउनुभयो ।
अहिले उक्त चौकीमा ६ जना प्रहरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले स्थानीय तहसँग समन्वय गरी सुरक्षा अवस्थालाई मजबुत पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय