Erani Mahal
तानसेनका १४ विद्यालयकाे समायाेजन र दरबन्दी कटाैती (कहाँ -कहाँ सूचि सहित )
Tansen-nagarpalika
विजयकुमार बौडेल पाल्पा - जिल्लकाे तानसेन नगरपालिकाले विद्यार्थीको संख्या कम भएका विद्यालयहरुको कक्षा कटौती, समायोजन र एकीकरण गरेको छ । नगरकार्यपालिकाकाे निर्णय अनुसार यि विद्यालयहरुकाे अनुगमन गरेर लामो समय विद्यार्थी संख्या ढाँटेर बचाई राखेका तानसेन नगरपालिका भित्रका १४ वटा विद्यालय केही समायोजन, केहीको कक्षा कटौती र एकीकरण गरिएको नगरपालिकाले जनाएकाे छ । बैशाख ८ गते बसेको तानसेन नगर शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाले रुरुक्षेत्र प्राथमिक विद्यालय तानसेन १४ लाई अमर प्राथमिक विद्यालयमा समायोजन गरेको छ । जसमा मातृ विद्यालय अमर प्राथमिक विद्यालय हुने गरी रुरुक्षेत्र प्राथमिक विद्यालयमा बालकक्षा सञ्चालन गरिने छ । यस्तै भैरव प्राथमिक विद्यालय तानसेन ५ लक्ष्मी माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । कक्षा ७ सम्म अध्यापन हुने तानसेन १२ को नामीकुवा आधारभूत विद्यालयको कक्षा कटौती भई कक्षा ५ सम्म कायम गरिएको छ । कक्षा ५ सम्म अध्यापन हुँदै आएको तानसेन ५ को जनहित प्राथमिक विद्यालयको कक्षा कटौती गरी कक्षा ३ सम्म अध्यापन हुने बनाइएको छ । कक्षा ३ सम्म अध्यापन हुँदै आएको तानसेन ५ कै बालकल्याण प्राथमिक विद्यालयको कक्षा कटौती भई बाल विकास केन्द्र र कक्षा १ मा मात्र सीमित भएको छ । कक्षा ८ सम्म अध्यापन हुँदै आएको तानसेन ५ कै जन आधारभूत विद्यालय कक्षा ६ सम्म कायम गरिएको छ । तानसेन ११ को चण्डिका प्राथमिक विद्यालयलाई कक्षा १ सम्म कायम गरिएको छ । यसभन्दा अघि यो विद्यालय कक्षा ५ सम्म सञ्चालनमा रहेको थियो । कक्षा ३ सम्म अध्यापन हुँदै आएको सरस्वतीनाथ प्राथमिक विद्यालय कक्षा १ सम्म कायम भएको छ । कक्षा ८ सम्म अध्यापन हुँदै आएको तानसेन १४ को अमर भगवती आधारभूत विद्यालय कक्षा ५ सम्म मात्र कायम गरिएको छ । कक्षा ५ सम्म अध्यापन हुँदै आएका तानसेन ९ को बालकृष्ण प्राथमिक विद्यालय र तानसेन १४ का कृष्ण प्राथमिक विद्यालय तथा अमर प्राथमिक विद्यालय बाल विकास केन्द्र देखि कक्षा १ सम्म मात्र कायम भएका छन् । तानसेन १३ को ज्ञानोदय प्राथमिक विद्यालय कक्षा १ सम्म मात्र कायम गरिएको छ । यसभन्दा अघि यो विद्यालय कक्षा ५ सम्म सञ्चालनमा थियो । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले विद्यार्थी निकै कम भएका विद्यालयहरुलाई आवश्यकताका आधारमा समायोजन, कक्षा कटौती र एकीकरण गरिएको बताउनुभयाे । प्रवक्ता कार्कीले विद्यार्थी नहुँने विद्यालयहरुमा राज्यको धेरै ठुलो लगानी खेर गइरहेको भन्दै यो निर्णय गरिएको बताउनुभयाे । उहाँले कमजोर भौतिक पूर्वाधार र न्यून शैक्षिक उपलब्धीका बीचबाट सेवा दिइरहेका विद्यालयलाई गाभेर सुविधा सम्पन्न र गुणस्तरीय शैक्षिक संस्था निर्माण गर्नतर्फ नगरपालिकाको ध्यान दिएको बताउनुभयाे । तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा बहादुर थापाले धेरै विद्यालयहरु एकीकरण नगरी विद्यार्थी संख्याका आधारमा कक्षा कटौती गरिएको बताउँदै थापाले राज्यको व्ययभार कम हुनुका साथै यो निर्णयले तानसेन नगरपालिकाको शिक्षा क्षेत्र थप व्यवस्थित हुने बताउनुभयाे । नगरपालिकाले विद्यालय समायोजन कार्यविधि बनाएर अनुगमन र अध्ययन प्रतिवेदनका आधारमा काम गरेको हो । विद्यालयको नियमित अनुगमन नहुँदा कम विद्यार्थी संख्या भएका विद्यालयका प्रध्यानाध्यापकहरुले धेरै विद्यार्थी संख्या रजिष्टरमा देखाएर दिवा खाजा तथा अन्य शीर्षकमा खर्च बढाउदा नगर सरकारलाई ठूलो रकम घाटा लागेको थियो । यो निर्णयसंगै शिक्षा क्षेत्रमा भएको अतिरिक्त खर्चमा नियमन हुने नगरपालिकाको दावी छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update