पाल्पा - पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत हुनुभएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको मन्त्रालयका सचिव डाक्टर विनोद कुमार गिरीले जानकारी दिनुभयो । नवनिर्वाचित आत्रेयले अस्पतालको सेवालाई गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सचिव गिरीले हस्ताक्षर गरेको मनोनयन पत्रमा उल्लेख छ ।
यसैबीच अस्पतालले आज एक कार्यक्रमको आयोजना गरी अध्यक्ष आत्रेयलाई स्वागत गरेको छ । निमित्त सुपरिटेन्डेन्ट डाक्टर विवेक भण्डारीसहित अस्पतालका कर्मचारीले खादा, अबिर लगाएर र स्वागत गर्नुभएको थियो ।
कार्यक्रम नवनिर्वाचित अध्यक्ष आत्रेयले जनताको अन्तिम भरोसाको रूपमा रहेको अस्पताललाई भरपर्दो र गुणस्तरीय बनाउने काम लागि पर्ने बताउनुभयो । अस्पताल बनाउने काम कर्मचारीको हो । राम्रो कामलाई आफूले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले अस्पतालको विकासका लागि नगरपालिकाले सहकार्य गर्न तयार रहेको बताउनुभयो । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट विवेक भण्डारी समितिका पदाधिकारी र कर्मचारीबीच समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । तत्काल भौतिक संरचनाको विकासलाई प्राथमिकता दिएर काम गर्न आग्रह गर्नुभयो ।
मेडिकल अफिसर डाक्टर रमेश खड्का र अस्पताल व्यवस्थापक प्रफुल्ल शर्माले पारिवारिक वातावरणमा अस्पतालको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
यस्तै प्रदेश मन्त्रालयले विकास समितीको सदस्यमा शशी श्रेष्ठलाई मनोनीत गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय