पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाको नव निर्मित वडा कार्यालय भवन उद्घाटन भएको छ । नव निर्मित भवन गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । कार्यक्रम प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष सारुले भौतिक बिकाससंगै मानवीय चेतनाको बिकास हुनुपर्ने बताउनुभयो ।
उहाँले अर्चलेको वडा कार्यालय सँगुरो र जीर्ण भएकोले तत्काल अर्को व्यवस्था गर्न आफुले समेत सुझाव दिएको भन्दै उक्त सुझावले सार्थकता पाएकोमा खुशी लागेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले वडा स्तरमा हुने हरेक योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्न सुझाव दिनुभयो ।
यस अघि गोरखनाथ माध्यमिक विद्यालयको जग्गामा रहेको पुरानो भवनबाट सेवा सुविधा दिदैं आएको कार्यालयले अब भने थुम्काडाँडा स्थित आफ्नै कार्यालयबाट सेवा बिस्तार गर्ने वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभयो । वडाध्यक्ष सुनारीले निस्दी गाउँपालिका पाल्पाको ७५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा भवन निर्माणकार्य सम्पन्न भएको जानकारी दिनुभयो । कार्यालयको आज पहिलो दिन गोरखनाथ माध्यमिक विद्यालयलाई ११ कक्षा सन्चालनका लागि सिफारिस र निराजन रानालाई नेपाली नागरिकताको सिफारिस प्रदान गरिएको वडा सचिब मीन बहादुर रानाले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका रोजगार संयोजक हरि आले,गोरखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद अर्याल,नेकपा एमालेका वडा कमिटी अध्यक्ष महेन्द्र बयम्बु,महिला स्वयं सेविका पानकुमारी बयम्बु लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा स्थानीय स्तरमा रहेका लोपोन्मुख पुरानो सांस्कृतिक झांकीहरु प्रस्तुत गरिएको थियो ।
महिला वडा सदस्य मिम्श्री बयम्बुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन वडा सचिव मीन बहादुर रानाले गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय