पाल्पा – सरकारले बेरोजगार मानिसलाई लामो र छोटो अबधिको सीप सम्बन्धी तालिम दिने गरेको छ । कतिपय तालिमले बेरोजगार व्यक्तिलाई स्वरोजगार बनाएको उदाहरण पनि छन् । तर अधिकांश तालिमको उपलब्धी भने शुन्यजस्तै बनेको छ ।
जिल्लाका विभिन्न स्थानमा अहिले सङ्घीय मातहतको सरकारी कार्यालय, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत विभिन्न खालका तालिम गर्दै आएका छन् । छोटो अबधिको तालिमको कुनै गणना छैन । लामो अबधिको तालिम पनि कामै नलाग्ने बनेको छ । तालिम लिएका मानिससँग लगानी गर्न आवश्यक पर्ने पूँजी अभाव हुनु र उत्पादित बस्तुको बजारीकरण नहुनुले लामो अबधिको तालिम उपयोगहीन बनेको तालिम लिने व्यक्तिहरू बताउँछन् ।
पाल्पामा घरेलु तथा साना उद्योग कार्यालय, प्रदेश सरकार मातहतका कार्यालय, लघु उद्यम कार्यक्रम, सिटिइभिटीबाट सञ्चालित तालिम, गैरसरकारी निकायको लगानीमा लामो अबधिको तालिम हुने गरेको छ । जुत्ता÷चप्पल बनाउने, टपरी उत्पादन गर्ने, होजियारी, ढाका कपडा बुन्ने, कुक, इलेक्ट्रिसियन, कम्प्युटर, सिलाईकटाई, मैनबत्ती बनाउने, अचार बनाउने, गुडिया तथा सजावटका सामग्री उत्पादनका तालिम भएका छन् । यीबाहेक कृषि, पशुपालन, माछापालन, खाद्यान्न उत्पादन, घरायसी सामग्री उत्पादनका सीप सम्बन्धी तालिम पनि सञ्चालनमा छन् । तर तालिम लिएका अधिकांश मानिस पुनः अर्को तालिम लिनुपर्ने अवस्थामा पुगेका छन् ।
तालिम दिने कसलाई, किन र तालिम पछि गर्ने स्पष्ट निती नहुँदा तालिमको सही सदुपयोग हुन नसकेको सरोकारवाला निकाय बताउँछन् । स्थानीय बासिन्दाको आवश्यकता र सम्भावना नहेरी तालिम गराउने प्रवृत्तिले तालिम उपयोगहीन बनेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । निस्दी जस्तो ग्रामीण क्षेत्रमा पनि व्यूटीपार्लर सम्बन्धी तालिम सञ्चालन हुनुले तालिम कति प्रभावकारी छ भन्ने मुल्याङ्कन गर्न सकिने उहाँले बताउनुभयो । शहरी क्षेत्रमा सञ्चालन गर्नुपर्ने तालिम गाउँमा सञ्चालन गरेको अध्यक्ष सारुले बताउनुभयो ।
यतिमात्र होइन लिएको तालिमको समेत दीगोपना नहुने गरेको छ । तालिम लिएपछि निरन्तर रुपमा उत्पादनमा लाग्ने र त्यसको बजारीकरणबाट आम्दानी गर्न नपाएको तालिममा सहभागीको भनाई छ । तालिम लिएपछि काम गर्ने वातावरण नै नभएको हाउस वायरिङ्को तालिम लिनुभएका माथागढी–२, रुप्सेका झपेन्द्र थापा बताउनुहुन्छ । तालिम लिएपनि सधै काम नपाउने समस्याले आफू अन्य काममा लाग्न बाध्य भएको थापाको भनाई छ । तालिम कति जना मानिसलाई दिने र कहाँ काममा लगाउने भन्ने निश्चित नहुँदा समस्या भएको उहाँ बताउनुहुन्छ ।
कतिपय व्यक्तिले लामा अबधिको पाँच÷सात वटा तालिम लिएका छन् । तर उनीहरू उत्पादनशील र रोजगारीमा लागेका छैनन् । तालिम दिएपछि कसरी अगाडि बढ्ने भन्ने निती नहुँदा समस्या भएको जनप्रतिनिधि बताउँछन् । पछिल्लो समय लामो अबधिको तालिम भएका छन् तर तालिम लिएका अधिकांश मानिस तालिममै सीमित हुने गरेका उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० २१:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय