Erani Mahal
पाल्पा महाेत्सवकाे तयारी तीव्र
mela logo
पाल्पा - पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा हुने पाल्पा महोत्सवको तयारी तीव्र बनेको छ । संघले यस वर्ष तानसेनको टुंडिखेलमा यही बैशाख १४ गतेदेखि महोत्सव गर्न लागेको छ । उक्त महोत्सवका लागि संघले स्टल बनाउने तथा प्रचारप्रसारको काम गरिरहेको जनाएको छ । महोत्सवको तयारीका बारेमा समेत पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । महोत्सव प्रचार–प्रसार संयोजक विदुर घिमिरेले अहिले स्टल राख्ने काम भइरहेको बताउनुभयो । महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका ३०० भन्दा बढी स्टल रहने संघका सचिव एवं प्रचार–प्रसार संयोजक घिमिरेले बताउनुभयो । उनका अनुसार महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलन संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता, वाणिज्य उपाध्यक्ष भीमबहादुर श्रेष्ठको स्वागत, उद्योग उपाध्यक्ष उत्तमकुमार बज्राचार्यको धन्यवाद ज्ञापन, महासचिव समिरमान सिंहको सञ्चालनमा कार्यक्रम भएको थियो । यसैबीच संघले महोत्सवको पूर्वसन्ध्या तथा नयाँ वर्षको अवसरमा नयाँ क्यालेण्डर बनाएको छ । संघले प्रकाशन गरेको क्यालेन्डर विमोचन गरिएको संघका सचिव तथा क्यालेण्डर विमोचनका संयोजक विदुर घिमिरेले जानकारी दिनुभएको छ । संघको प्रदेश र केन्द्रीय तहमा निर्वाचित सदस्यहरूलाई सम्मान समेत गरिएको छ । भर्खरै उद्योग वाणिज्य संघको सम्पन्न केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष मोहन श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष मधुदयाल शैजुलाई संघका अध्यक्ष शैलेन्द्र भट्टराई र लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सम्मान गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update