Erani Mahal
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेन
Gulmi-resunga-airportpcc-1
गुल्मी - गुल्मीको रेसुङ्गा विमानस्थलबाट गत पुस महिनामा धुमधामसँग परीक्षण उडान गरिएपनि नियमित उडान अझै सुरु हुन सकेको छैन । परीक्षण उडानको १५ दिनमै नियमित उडान गर्ने भनिए पनि झण्डै ४ महिना बितिसक्दा समेत नियमित उडानको टुङ्गो नलागेकाे हाे । यो विमानस्थलमा सुरुमा तारा एयरले उडान गर्न खोजेको थियो । तर, पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि ताराले समेत आफ्नो योजना पछाडि धकेलेको हो । त्यसपछि नेपाल एयरलाइन्सले गुल्मीमा नियमित उडानको तयारी गरेको थियो । तर, यहाँ तत्काल उडानको अनुमति नपाएपछि उडान प्रभावित बनेको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडानको मिति पटक-पटक टर्ने गरेको छ । विमानस्थलको सम्पूर्ण निर्माण कार्य गरेर परीक्षण उडान पनि गरियो । तर अहिले नियमित उडान हुन सकेको छैन । २५ जेठ २०७५ मा तारा एयरको जहाजले धुले उडान गरेको थियो । पुनः २४ पुसमा तारा एयरको १८ सिट क्षमताको जहाजले सफल परीक्षण उडान गरेपछि गुल्मेलीहरु नियमित उडान हुन्छ भन्ने आशा जगायो । परीक्षण उडानको दुई साता पछि नियमित उडान हुन्छ भने पनि महिनौं बित्दा पनि नियमित उडान हुने सुरसार नभएको स्थानीय बताउँछन् । रेसुङ्गा नगरपालिकाको पहलमा प्रर्दशन उडान गरेर नियमित उडानको तयारी गरिएको थियो । रेसुङ्गा नगरपालिकाले नियमित उडानको लागि समन्वय पनि गरेको थियो । तर महिनौ बित्दा पनि नियमित उडान नहुँदा स्थानीयले विमानस्थल चल्दैनकि भन्ने शंका गर्न थालेका छन् । रेसुङ्गा विमानस्थलको कुल ३५ करोड लागतमा सम्पन्न भएको थियो । विमानस्थलको धावनमार्ग ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो । लामाे समयसम्म उडान नहुँदा याे विमानस्थल संचालन हुनेमा शंका समेत उत्पन्न भएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update