तानसेन – पाल्पामा चैते धान खेती लगाउने क्रम घटेको छ । केही वर्षअघिसम्म पाल्पाका अधिकांश फाँटहरूमा चैत धान खेती हुने गरेकोमा पछिल्ला वर्षहरूमा चैत धान खेती गर्ने क्रम घटेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
धान खेती हुने क्षेत्रमा बस्ती बढ्दै जानु, सख्खापन बढ्नु, सिंचाईको सुबिधा नहुनु जस्ता कारणले चैत धान खेती घटेको ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दुई वर्षअघि ७०५ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो । तर यो वर्ष घटेर ६२६ हेक्टर क्षेत्रफलमा मात्र चैत धान रोपाइँ भएको ज्ञान केन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिनुभयो । धान खेतीको क्षेत्रफल घटेपछि उत्पादन समेत घट्ने उहाँले बताउनुभयो । चैते धान खेती गर्ने क्रम बिस्तारै घटेपनि उत्पादन भने बढी रहेको सूचना अधिकारी गैरेको भनाई छ ।
[caption id="attachment_30786" align="alignnone" width="768"] पाल्पाकाे पूर्वखाेला फाँटमा किसानले लगाएकाे चैते धानखेती ।[/caption]
केही वर्षअघिसम्म पाल्पाको माडीफाँटको धान खेती हुने कुल भूभागको ४० प्रतिशत भूभागमा चैते धान खेती हुने गरेको थियो । तर केही वर्षयता चैत धानको रोपाइँ नै भएको छैन । माडीफाँटको अम्लिहान, लालपाटी, मैदान, बुडुवा, पुरिनढाव क्षेत्रमा चैत धान खेती हुने गरेको थियो । अहिले ती क्षेत्रमा धान खेती नै हुन छाडेको माडी पोखराथोकका किसान रनबहादुर गाहाले बताउनुभयो । माडीफाँट क्षेत्रमा चैत महिनामा धान खेती गर्ने क्रम हटेको उहाँले बताउनुभयो ।
यो वर्ष पाल्पाको रामपुर फाँट, पूर्वखोला र हुँगी, धानकुना, निस्दीको गल्धा फाँटमा चैते धान रोपाइँ भएको छ । बाँकी अधिकांश फाँटमा धान खेती हुन नसकेको ज्ञाक केन्द्रका प्रमुख कामना अधिकारीले बताउनुभयो । सुख्खायाम र धान खेती हुने क्षेत्रमा बस्ती विकासले चैते धानको खेती गर्ने क्षेत्रफल घटेको उहाँले बताउनुभयो । धान खेतीका लागि समयमै मल नपाउने, ज्यामी नपाउने तथा अन्य खर्च समेत महङ्गो भएकाले यसको खेती कम हुँदै गएको किसानको भनाई छ । पाल्पामा चैते १ र २, टाइचन र हर्दिनाथ जातका धान खेती हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय