पाल्पा – तानसेन–४, मख्खनटोल, शित्तलपाटी क्षेत्रका ५७ वटा घरटहरामा डोजर लागेको छ । नगरपालिकासहित विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका ५७ वटा घरटहरा बुधबार बिहानदेखि हटाउन सुरु गरिएको हो ।
पाल्पा दरबार परिसरमा रहेको घरटहरा हटाउन नगरपालिकाले व्यापारी तथा व्यवसायीलाई ३५ दिने सूचना जारी गरेको थियो । सूचना अनुसार घरटहरामा व्यापारी व्यवसायीले घरटहराका सामान हटाइसकेका छन् । सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो ।
दरबार परिसरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न घरटहरा हटाइएको प्रवक्ता कार्कीले बताउनुभयो । यहाँका संरचना हटाउन नगरपालिकाले तीन वटा डोजर, माटो सफा गर्ने पानीको फोहोरा, सामान उठाउने ट्रक तथा अन्य बस्दोबस्तीका सामान तयार गरेर गरेको जनाएको छ । घरछहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाई गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गर्ने तथा सुन्दर बनाउने नगरपालिका र पुरातत्व विभागको योजना छ ।
नगरपालिकाले प्रहरी प्रशासन, नगर प्रहरीसहित, आवश्यक जनशक्ति टहरा हटाउने स्थलमा खटाएर काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । घरटहरा हटाएपछि तत्कालै यहाँका फोहोर हटाउने र आवश्यक सौन्दर्यकरण गरिने ज्ञवालीले बताउनुभयो । यहाँबाट विस्थापित भएका अधिकांश व्यवसायीले अर्को स्थानमा व्यापार गर्न थालिसकेका छन् । घरटहरा हटाउँदा मर्कामा पर्ने व्यापारीलाई नगरपालिकाले व्यवस्थापन गर्ने योजना रहेको ज्ञवालीले बताउनुभयो ।
नगरपालिकालाई भाडा दिने गरी यहाँको जग्गा व्यापारी तथा व्यवसायीलाई दिएपनि अधिकांशले विगत १३ वर्षदेखि ४५ लाख बढी भाडा तिरेका थिएनन् । नगरपालिकालाइ उनीहरूले कबाेल गरेकाे भाडा १३ वर्षदेखि नतिरेकाे र त्याे सरकारी नियमानुसार अशुलउपर गर्ने नगरपालिकाले जनाएकाे छ ।
सकियाे कमिसनकाे खेल
यहाँको घरटहरा भत्काएसँगै टहरामा घरटहरा भाडामा लगाउने बेला हुने कमिसन र मोलमोलाईकाे खेल समेत सकिएको छ । विगतमा यहाँको टहरा भाडामा लगाउने बेलामा लाखौँ रुपियाँको कमिसनको चलखेल हुँदै आएको थियो । नगरपालिका तथा विभिन्न संघसंस्थालाइ कम भाडा दिएर महङ्रगाेमा घरटहरा भाडामा लगाउने ठेक्का हुने गरेकाे थियाे । त्यसमा केही डनले भाडामा प्रतिष्पर्धा गर्न अबराेध गरेर ठूलाे रकम चलखेल गरेका थिए । व्यापारीहरूले भने नगरपालिकाले आफूलाई एक्कासी टहराबाट हटाएर अन्याय गरेको बताएका छन् । उनीहरूले नगरपालिकाले एक्कासी घरटहरा भत्काउने निर्णय गरेकाे र समय माग गर्दा समेत नदिएकाे बताएका छन् । उनीहरूले दरबार परिसरभित्रका अन्य कार्यालय समेत हटाउन माग गरेका थिए । टहरा भत्काएपछि तानसेन सुनसान बन्ने केही व्यक्तिले टिप्पणी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय