पाल्पा – पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूमा नेपाली सेनाको टोलीको पदयात्रा सुरु भएको छ । राष्ट्रिय एकताको सन्देशसहित सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक स्थलहरुमा पद यात्रा सुरु गरेको हो । टोलीले माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको भ्रमण गर्ने पाल्पास्थित नेपाली सेनाको दि महिन्द्र फेमस दल गणले जनाएको छ ।
गोरखा, तनहुँ हुँदै पाल्पा आएको पदयात्राको टोलीलाई पाल्पा र स्याङ्जाको सिमाना केलादी घाटमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, २२ नं. बाहिनीका बाहिनीपति ललितबहादुर कुँवर, रामपुर नगरपालिकाकी कार्यबहाक नगर प्रमुख बालकुमारी थापा, दि फेमस महिन्द्र दल गणका गणपति बालमुकुन्द विष्ट लगायतले स्वागत गर्नुभएको थियो । पदयात्रा टोलीले पाल्पाको बाकुमगढी, माथागढी, तानसेनपछि जीतगढी किल्लामा पदयात्रा गर्ने कार्यक्रम रहेको छ । उक्त टोलीमा नेपाली सेनाका १०० देखि १५० जना सहभागी भएका छन् ।
पदयात्रा टोलीलाई रामपुरमा स्थानीय बासिन्दाले समेत भव्य स्वागत गरेका थिए । टोलीलाई पन्चेबाजासहित रामपुरमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, क्लब, समूह, स्काउटका विद्यार्थी लगायतले स्वागत गरेका थिए । उनीहरुले टोलीलाई फूलमाला, अवीरसहित सम्मान समेत गरेका थिए । सो अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेपालको ऐतिहासिक स्थलको भ्रमणले ऐतिहासिक स्थलको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नयाँ पुस्तालाइ समेत यसले नयाँ सन्देश दिने बताउनुभयो ।
यस्तै २२ नं. बाहिनीका बाहिनीपति ललितबहादुर कुँवरले नेपाल एकीकरण र नेपाल अग्रेज युद्ध नेपाली सेनाले मात्र नभई सबै नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीको सहयोग रहेको बताउनुभयो । नेपाली सेना र जनताको विगतदेखि नै प्रगाढ सम्बन्ध रहेको भन्दै उहाँले पदयात्राले विगतको ऐतिहासिक सम्बन्धलाई जीवन्त राख्ने बताउनुभयो ।
पदयात्राले नेपाल तथा पाल्पाको ऐतिहासिक महत्वको स्थानको प्रचार गर्न सहयोग पुग्नेछ भने भावी पुस्तालाई नेपाली सेनाको वीरताको बारेमा जानकारी समेत गराउन सहयोग पुग्ने दि फेमस महिन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले जानकारी दिनुभयो ।
यही चैत २८ गतेबाट गोरखाबाट ‘ऐतिहासिक गोरखा–जीतगढी’ पदयात्राका लागि हिँडेको टोली वैशाख २ गते पाल्पा आइपुगेको हो । पाल्पामा पहिलो पटक रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम रहेको गणपति विष्टले जानकारी दिनुभयो ।
सेनाको नेतृत्वका हुने पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिता रहको छ । पाल्पा पदयात्राको नेतृत्व दि महिन्द्र फेमस दल गणका मेजर किन प्रधानले गर्नुभएको छ । उक्त टोलीले वैशाख ७ गते बुटवलमा पदयात्राको झण्डा हस्तान्तरण गर्ने गणले जनाएको छ । पदयात्रामा सहभागी टोलीले १६१ किलोमिटर दुरी पार गर्नेछ ।
यसअघि, नेपाली सेनाले गोरखादेखि पूर्वतर्फमात्रै पदयात्रा गरेको थियो । यो वर्षदेखि गोरखादेखि पश्चिम क्षेत्रका ऐतिहासिक स्थलहरूमा पदयात्रा गर्न थालेको जनाएको छ । नेपाली सेनाले गर्न थालेको पदयात्राले सेना र नागरिकको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने पाल्पाका सरोकारवाला नागरिकको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय