Erani Mahal
पाल्पामा लम्पी स्किनका कारण ७० बढी पशुकाे मृत्यु
chaitra-4-copy-scaled
पाल्पा – पशुमा देखिएको लम्पी स्किन संक्रमणका कारण हालसम्म पाल्पामा ७० बढी पशुको मृत्यु भएको छ । सबैभन्दा बढी पाल्पाको बगनासकालीमा ४२ वटा गाइगोरुको मृत्यु भएको छ । लम्पी स्किन रोग जिल्लाभर महामारीका रुपमा फैलिएको छ । यस्तै माथागढीमा १५ वटा गाई गोरु, बाच्छाबाच्छीको मृत्यु भएको छ । यस्तै निस्दी गाउँपालिका छ वटा र रिव्दीकोट गाउँपालिकामा चार वटा गाइगोरु मरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । पाल्पामा लम्पी स्किन रोगबाट हालसम्म ७६३ वटा गाइगोरु संक्रमित भएका छन् । सबैभन्दा बढी तिनाउ गाउँपालिकाका किसानले पालेका दुधालु गाइमा संक्रमण बढी देखिएको छ । तिनाउका विभिन्न किसानले पालेका गाईमा लम्पी स्किनको संक्रमण देखिएको पशु चिकित्सक नवीन बस्यालले जानकारी दिनुभयो । लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ । लम्पी स्किन रोग लागेका पशुबाट दुध उत्पादनमा ५० प्रतिशत बढी ह्रास आउने विज्ञ केन्द्रका निमिक्त प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । यस्तै माथागढी र बगनासकाली गाउँपालिकाका ४०० बढी पशु लम्पी स्किन रोगबाट संक्रमित भएका छन् । यस्तै निस्दीमा ६६, रिव्दीकोटमा ३२, रैनादेवी छहरामा ३५ र तानसेन नगरपालिकामा ३० वटा पशुमा लम्पी स्किन संक्रमण फैलिएको छ । लम्पी स्किन संक्रमित भएका पशुको शरीरका भागमा गिर्खा आउने, घाउ हुने पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिन्छ । यसको संक्रमण देखिएपछि पालिका र विज्ञ केन्द्रले विभिन्न स्थानमा उपचारको अभियान संचालन गरेको जनाएको छ । यद्यपी हालसम्म यो रोग नियन्त्रणमा आउन सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update