पाल्पा – नारी साहित्य तथा साँस्कृतिक प्रतिष्ठान पाल्पाले पाल्पाको भाषा, कला, साहित्य र संस्कृतिलाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।
पाल्पामा साथै पाल्पा बाहिर बसोवास गर्ने पाल्पाली साहित्यकार, लेखकहरुको २० वटा खोजमुलक लेख समेटिएको छ । पुस्तकको लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीरबहादुर राना, क्याम्पस प्रमुख टंक भटराई र प्रतिष्ठानकी अध्यक्ष मन गहिरेले संयुक्त विमोचन गर्नुभएको थियो ।
भाषा, लिपी, साहित्य, संस्कृति, इतिहास, नारी स्रष्टा, मगर भाषा, जाति, संस्कृतिका विषयलाई पुस्तकमा समेटिएको छ । खोजमुलक तथा अनुसन्धानमुलक पुस्तकको समिक्षा उपप्राध्यापक पुष्कर आचार्यले गर्नुभयो । सोही अवसरमा खोजमुलक लेख रचना उपलब्ध गराउने २० जना लेखक तथा साहित्यकारहरुलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री रानाले साहित्यको क्षेत्रमा कलम चलाउने नारी श्रष्टाहरुबाट पाल्पाको साहित्यमा दिएको योगदान अतुलनीय रहेको बताउँदै साहित्यले मान्छेलाई हरेक ढंगबाट क्रियाशील बनाउने गरेको बताउनुभयो । अब अर्काको कुरा काटेर नभई आफ्नो काम गरेर नै अघि बढ्न सकिन्छ भन्ने देखाउनुपर्ने बेला आएको बताउँदै साहित्यका क्षेत्रमा भएका उल्लेखनीय कार्यहरुको प्रशंसा गर्नुभयो ।
संस्थाको परिचय गराउनुका साथै कार्यक्रमको सन्दर्भ उठाउन गरी औचित्यमा प्रकाश पार्दै प्रतिष्ठानकी अध्यक्ष मन गहिरेले पुस्तकमा समेटिएका सामग्री र पुस्तक प्रकाशनको सन्दर्भलाई समेत उहाँले प्रकाश पार्नुभयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने काम त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक पुष्कर आचार्यले गर्नुभयो । पाल्पाको साहित्य, कला र संस्कृतिका क्षेत्रमा पछिल्लो समयमा जागरण आएको विचार उहाँले व्यक्त गर्नुभयो । विभिन्न बीस जना स्रष्टाका लेखहरू कृतिमा रहेको, धेरै अनुसन्धानमूलक र केही निजात्मक प्रकृतिका लेखहरू रहेको कुरा उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा साहित्यकार विजया पन्त, पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई, लेखक तथा इतिहासविद् निर्मल श्रेष्ठले लेखनमा लाग्नेहरू हात्तीको चालमा लसलस हिँड्नुपर्ने बताउँदै साहित्य इतिहासका सम्बन्ध सिङ्गो कृति आउनुपर्ने विचार व्यक्त गर्नुभयो । पत्रकार महासंघका पूर्व सभापति गोविन्द भट्टराईले साहित्यका माध्यमबाट व्यक्ति महामानव बन्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मन गहिरेको अध्यक्षता र प्रतिष्ठानकी सचिव मञ्जु कोइरालाको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९ २०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय