Erani Mahal
पाल्पाका १० स्थानीय तह मध्ये रैनादेवी छहरा उत्कृष्ठ !
rainadevi chhahara gapa
पाल्पा – पाल्पा जिल्लाको १० स्थानीय तहहरु मध्ये स्थानीयतह कार्यसम्पादन सूचकमा रैनादेवीछहरा गाउँपालिका जिल्लामै उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्रकृती तथा वित्त आगोगले विभिन्न १७ वटा सूचकमा गरेको कार्यसम्पादनमा पाल्पाका दश वटा गाउँपालिका मध्ये रैनादेवीछहरा गाउँपालिका सबैभन्दा उत्कृष्ट पालिका भएको हो । आगोगले विभिन्न १७ वटा सूचकहरुमा गरेको मुल्याङकनमा चालु आर्थिक बर्षको बजेट निर्धारित समयमै गाउँ तथा नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरेको, स्थानीय सरकारले लिने घर जग्गा, विज्ञापन तथा मनोरञ्जन करको ४० प्रतिशत प्रदेश सरकारमा दाखिला गरेको, आगामी बर्षको लागि आय व्ययको विवरण संघिय अर्थमन्त्रालयमा पेश गरिसकेको लगायतका विषयमा मूल्यांकन गरेको थियो । यस्तै बजेट कार्यान्वयको विषयमा पारित गरी कार्तिक मसान्त भित्र सार्वजनिक गरेको, अनुमानित राजश्व संकलन अनुसारको राजश्व संकलनको अवस्था, बेरुजुको अवस्था जस्ता सूचकहरु रहेको उपाध्यक्ष युवराज थापाले बताउनुभयो । यसैगरी वित्त आयोगले तोकेका अन्य सूचकहरुमा आवधिक योजना तर्जुमा, कक्षा १ देखी १० सम्म विधार्थी भर्ना, टिकाउ सिकाई उपलब्धीको अवस्था, ४ पटक सम्म गर्भजाँच र अस्पतालमा हुने सुत्केरीको अवस्था, दुई बर्ष सम्मका वालवालिकाको खोपको अवस्था, वित्त आयोगले तोकेको विषयबस्तु अनलाईमा अपडेट गरेको अवस्थाका विषयबस्तुमा मुल्याङकन गर्दा पाल्पामा रैनादेवीछहरा गाउँपालिका उत्कृष्ट भएको थापाको भनाई छ । रैनादेवी छहरा गाउँपालिकाले १०० पुर्णाङ्कमा ७१.१७ अंक ल्याई पाल्पामा पहिलो भएको हो । पाल्पामा उत्कृष्ट नतिजा हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाले आगामी बर्षको लागी ६० लाख रुपैया समानिकरण अनुदान पाउने भएको छ । वित्त आयोगले निर्धारण गरेको १७ वटा सूचकहरुमा आधारित भएर गाउँपालिकाले काम गर्दै आएको सोही अनुसार जिल्लामा उत्कृष्ट अंक र अनुदान पाउदा नियम कानुन र जनताको पक्षमा काम भएको महशुस भएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो । आगामी बर्ष अहिलेको भन्दा अझै उत्कृष्ट अंक र अनुदान रकम बढाउने गरी काम गर्ने अध्यक्ष भट्टराईले बताउनुभयो । वित्त आयोगले गरेको स्थानीयतह कार्यसम्पादन मुल्याङ्कनमा जिल्लामै उत्कृष्ट हुन पाउदा हामी कर्मचारीहरुमा पनि काम गर्ने उर्जा थपिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो । पालिकाका जनप्रतिनिधी, कर्मचारीहरु एक आपसमा समन्वय, सहकार्य, ऐन नियम कानुनमा आधारीत भएर काम गरेको कारण वित्त आयोगको स्थानीयतह कार्यसम्पादनमा जिल्लामा उत्कृष्ट भएकोमा गर्व लागेको पालिकाका सूचना अधिकृत नारायण मल्लले बताउनुभयो । वित्त आयोगले विभिन्न सूचकहरु निर्धारण गरी प्रदेश तथा स्थानीय सरकार लाई कार्यसम्पादन मुल्याङकन गर्ने, प्राप्त अंकको आधारमा विभिन्न शिर्षकमा बजेटको लागी संघिय तथा प्रदेश मन्त्रालयमा सिफारिस गर्दै आएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update