पाल्पा – जिल्लाको विभिन्न स्थानका पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । जिल्लाको माथागढी, तिनाउ तथा निस्दीमा किसानले पालेका पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको हो ।
सबैभन्दा पहिले माथागढी गाउँपालिकाको वडा नं. ५ को जगात र वडा नं. ६ को हात्तीलुङ् गणबाँस, दमार, माथालगायतका गाउँमा यो रोग फैलिएको हो । ती स्थानका अधिकांश गाई, भैंसी तथा गोरु र बाच्छा बाच्छीमा यो रोगको सङ्क्रमण फैलिएको पालिकाका पशु प्राविधिक विक्रम गरम्जाले जानकारी दिनुभयो । रोग फैलिएपछि ती स्थानमा किसानमा जनचेतना फैलाने तथा आवश्यक सुझाव दिने कार्य भइरहेको गरम्जाले बताउनुभयो । हालसम्म माथागढीका पाँच÷सात वटा गाउँमा लम्पी स्किन रोग फैलिएपनि पशुको मृत्यु भने नभएको पालिकाले जनाएको छ ।
लम्पी स्किन रोग पाल्पामा पहिलो पटक देखा परेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । पशुमा लम्पी स्किन रोगको लक्षण देखा परेपछि परीक्षणका लागि काठमाडौंको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । माथागढीको नमूना परीक्षणमा लम्पी स्किनको भाइरस देखा परेको विज्ञ केन्द्र पाल्पाका निमिक्त प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो ।
विगतका वर्षमा देशको अन्य जिल्लामा यो रोग देखा परेको थियो । पाल्पामा भने पहिलो पटक देखा परेको खनालले जानकारी दिनुभयो । नयाँ रोगका रुपमा फेला परेको यो रोग भाइरस मार्फत सर्छ । यसको औषधि र उपचार हालसम्म पत्ता नलागेको पशु प्राविधिक बताउँछन् ।
यो रोगको सङ्क्रमण फैलिएको गाइ, गोरु, भैँसीको विभिन्न भागमा ग्रिखा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निने, उत्पादनमा कमी आउने जस्ता लक्षणहरू देखिने पशु चिकित्सक नविन बस्यालले बताउनुभयो । यो रोग क्याप्रिपोक्स भाइरस तथा लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने उहाँले बताउनुभयो ।
यो रोग लागेपछि पशुलाई सार्वजनिक स्थलमा चरणका लागि लैजान नहुने, अन्य बस्तुभाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाई गर्ने काम गरेपछि यसको नियन्त्रण हुन सक्ने चिकित्सक बस्यालले बताउनुभयो । जिल्लाको माथागढीमा मात्र होइन, बगनासकाली, तिनाउ, निस्दी, रिव्दीकोटलगायतका गाउँपालिकाका किसानले पालेका पशुहरूमा पनि लम्पी स्किन रोगका लक्षण देखिएको कार्यालयले जनाएको छ । यद्यपी ती स्थानको भने परीक्षण हुन बाँकी रहेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । यो रोगको सङ्क्रमणबाट पशुको मृत्यु बढी नभएपनि उत्पादनमा भने ५० प्रतिशतले ह्रास आउने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ ०६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय