Erani Mahal
४५ प्रतिशत भाडा छुट माग्दै पाल्पाका विद्यार्थी संगठन
dd
तानसेन – सार्वजनिक यातायातमा यात्रा गर्दा विद्यार्थी, अपाङ्ग, तथा जेष्ठ नागरिकले छुट सुबिधा नपाएको भन्दै विद्यार्थी सङ्गठनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पाल्पामा सञ्चालन हुने सार्वजनिक यातायातले जेष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएकालाई भाडामा छुट नदिएको भन्दै विद्यार्थी सङ्गठनहरूले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका हुन् । पाल्पामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले विद्यार्थीलगायत अन्य मानिसलाई ४५ प्रतिशत भाडामा छुट दिनुपर्ने प्रावधान उल्लङ्घन गरेको अखिल क्रान्तिकारीको भनाई छ । क्रान्तिकारीले पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ । नेपाल सरकारसँग भएको सम्झौता अनुसार विद्यार्थी, जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकले भाडामा छुट पाउनुपर्ने र त्यसको कडाईका साथ कार्यान्वयन हुनुपर्ने अखिल क्रान्तिकारीको माग रहेको भित्रुवन बहुमुखी क्याम्पसका इन्चार्ज ताराबहादुर रायमाझीले जानकारी दिनुभयो । क्रान्तिकारीले पश्चिम नेपाल बस व्यवसायी प्रालि, श्रीनगर यातायात सेवा प्रालिलाई समेत ज्ञापनपत्र तथा मागपत्र बुझाएको छ । यातायात व्यवसायीले इन्धनको मुल्य बढाउँदा तत्काल भाडा बढाउने तर सरकारले भनेअनुसारको विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गलाई छुट सुबिधा नदिएको क्रान्तिकारीका नेता पदम सोमैले बताउनुभयो । भाडाकाे छुटबारे ज्ञापनपत्र बुझाएपछि विद्यार्थीमा केही आशा पलाएकाे छ । पाल्पामा पछिल्लाे समय निरिह्य बनेकाे विद्यार्थी संगठनकाे गतिबिधिले विद्यार्थीकाे हकहितमा काम हुने अपेक्षा विद्यार्थीहरूले गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update