पाल्पा - पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूमा नेपाली सेनाकाे टाेलीले पदयात्रा गर्ने भएकाे छ । राष्ट्रिय एकताको सन्देशसहित सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको भ्रमण गर्ने योजना बनाएको पाल्पास्थित नेपाली सेनाकाे दि महिन्द्र फेमस दल गणले जनाएकाे छ ।
यही चैत २८ गतेबाट गोरखाबाट ‘ऐतिहासिक गोरखा–जीतगढी’ पदयात्राका लागि हिँडेको टोली वैशाख २ गते पाल्पा आइपुग्ने कार्यक्रम छ । पाल्पाको गढी तथा किल्लासम्मको यात्रा पाल्पास्थित 'दि फेमस महिन्द्र दल गण'ले गर्ने गणपति बाल मुकुन्द विष्टले जानकारी दिनुभयो । पाल्पामा पहिलो पटक रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम रहेको गणपति विष्टले जानकारी दिनुभयाे ।
पदयात्राले सैनिक र नागरिकबीचको सम्बन्ध सुमधुर हुने, नेपालीको गौरवपूर्ण इतिहासप्रति अभिरुचि बढ्ने, भावी पुस्तालाई इतिहासबारे जानकारी हुने गणपति विष्टले बताउनुभयो ।
यस्तै, ऐतिहासिक स्थलको पहिचानसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र राष्ट्रिय एकताको संवैधानिक दायित्व पूरा हुने उहाँकाे भनाइ छ ।
सेनाको नेतृत्वका हुने पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिता रहने दि महिन्द्र फेमस दल गणका मेजर किन प्रधानले जानकारी दिनुभयो । यसबाट ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गर्न र स्थानीय बासिन्दाको गढी र किल्लाप्रति अपनत्व बढ्ने उहाँले बताउनुभयो ।
पाल्पाको केलादी हुँदै बाकुमगढी झडेवा माथागढी हुँदै तानसेन र तानसेन हुँदै तिनाउको नुवाकाेट तथा जीतगढी किल्लासम्म पदयात्रा गर्ने सेनाको योजना छ । उक्त टोलीले वैशाख ७ गते बुटवलमा पदयात्राको झण्डा हस्तान्तरण गर्ने गणले जनाएको छ । पदयात्रामा सहभागी टोलीले १६१ किलोमिटर दुरी पार गर्ने तथा टोलीमा १५० देखि २०० जनाको सहभागिता रहने गणपति विष्टले जानकारी दिनुभयो ।
यसअघि, नेपाली सेनाले गोरखादेखि पूर्वतर्फमात्रै पदयात्रा गरेको थियो । यो वर्षदेखि गोरखादेखि पश्चिम क्षेत्रका ऐतिहासिक स्थलहरूमा पदयात्रा गर्न थालेको जनाएको छ । नेपाली सेनाले गर्न थालेको पदयात्राले सेना र नागरिकको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने पाल्पाका सरोकारवाला नागरिकको भनाइ छ ।
विगतमा जनतासँगै मिलेर एकीकरण तथा नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरेको इतिहास रहेकाले पदयात्राले सेना र जनताको सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो ।
पदयात्रा बारे जानकारी दिने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पाल्पाकाे तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, पूर्वखाेला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेला तथा अन्य सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ २१:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय