Erani Mahal
पाल्पा महाेत्सवकाे स्थान टुंडिखेलमा सारियाे
khel maidan
तानसेन – आगामी २०८० बैशाख १४ गतेदेखि हुने पाल्पा महोत्सवको स्थान परिवर्तन गरिएको छ । यसअघि तानसेनको बाँसटारीमा हुने भनिएको पाल्पा महोत्सव तानसेनकै टुंडिखेलमा हुने आयोजकले जनाएको छ । तानसेन नगरपालिका र पाल्पा उद्योग वाणिज्य संघका बीचमा टुंडिखेलमै महोत्सव आयोजना गर्ने सहमति भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाले टुंडिखेलमा लगाएको दुबोसहित अन्य संरचनाको संरक्षण गर्ने गरी महोत्सव गर्ने सहमति दिएको हो । तानसेनको टुंडिखेलमा करोडौँ खर्च गरेर निर्माण गरिएको सुन्दरता नबिगार्ने गरी महोत्सव गर्न नगरपालिकाबाट सहमति प्राप्त भएको अध्यक्ष भट्टराईले बताउनुभयो । संघले बैशाख १४ गतेदेखि २४ गतेसम्म मेला गर्न लागेको जनाएको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरभित्र चहलपहल हुने भएकाले महोत्सव टुंडिखेलमै गर्न सहमति दिएको बताउनुभयो । मुख्य बजारभन्दा बाहिर मेला गर्दा बजार सुनसान हुने हो कि भन्ने सबैको चिन्ता देखेर मेला टुंडिखेलमा गर्न दिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । तानसेन नगरपालिकाले आव २०७६/०७७ देखि टुँडिखेल मैदान सुधार योजना अन्तर्गत खेल मैदानको सुधार काम गरिरहेको थियो । टुँडिखेल मैदानको छेउमा जेष्ठ नागरिक पार्क र बाल बगैँचा समेत बनाइरहेको छ । तानसेन नगरपालिकाको तीन करोड ८२ लाख ९४ हजार रुपियाँ लागतमा मैदान सुधार गर्ने कार्य सुरु भएको थियो । टंडिखेलमा मेला हुने भएपछि मैदान बिग्रने हो कि भन्ने चिन्ता बढेको छ । नगरक्षेत्रमा नागरिकले करोडौँ खर्च गरेर बनाएको टुंडिखेल पुन धुलोमा परिणत हुने हो कि भन्ने चिन्ता गरेका हुन् । यद्यपी नगरपालिका र संघका पदाधिकारीले भने टुंडिखेलको सौन्दर्यता नबिग्रने दावी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update