पाल्पा - सिद्धार्थ राजमार्ग पुन बन्द गरिने भएकाे छ । सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गरिने भएको हाे । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पुनः सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएकाे छ ।
सुरुङ् मार्ग निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ् कर्पोरेसनको माग अनुसार यही २०७९ चैत २१ गतेदेखि दैनिक नौँ घण्टा सडक बन्द गरिने प्रशासनले जनाएकाे छ ।
निर्माण व्यवसायीले सुरुङ् मार्गका लागि आवश्यक पूर्वाधारबनाउन सडक बन्द गर्नुपर्ने पत्र पठाएकाले सोही अनुसार निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
अर्को सूचना नभएसम्मका लागि सडक बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ । यसअघि पनि त्यस क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम गर्न सडक बन्द गरिएको थियो ।
सिद्धबावा क्षेत्रमा १ हजार १२६ मीटर सुरुङ् मार्ग निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको आयोजना पक्षले जनाएको छ ।
हेर्नुहाेस् सूचना
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ २०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय