Erani Mahal
‘मलाई फेरी प्रधानमन्त्री बन्ने लोभ छैन’ : पूर्व प्रधानमन्त्री ओली
IMG_3692
पाल्पा - नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई फेरी प्रधानमन्त्री बन्ने लोभ नभएको बताउनुभएको छ । नेकपा एमाले पाल्पाले मङ्गलबार दमकडामा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्नुहुँदै ओलीले अब फेरी प्रधानमन्त्री बन्ने आफूलाई कुनै लोभ नभएको उल्लेख गर्नुभयो । ‘मलाई अब प्रधानमन्त्री हुने कुनै रहर छैन ओलीले भन्नुभयो त्यसैले देशको पक्षमा, जनताको पक्षमा, आम किसानको पक्षमा बोल्न कुनै डर छैन ।’ म प्रधानमन्त्री भएर देश र जनताकाे पक्षामा के गरे त्यो तपाइँहरूले देखिसक्नुभयो ओलीले भन्नुभयो । वर्तमान सरकार सीमा मिचिदा समेत बोल्न नसकेको बरु नदेखेझैँ गरी नाटक गरेको ओलीको भनाई छ । आफू प्रधानमन्त्री भएका बेला गरेका सीमा फराकिलो बनाएको, आर्थिक सूचक सुधार गरेको, विदेश जाने युवालाई रोकेको र अर्थतन्त्र सुधार गरेको अध्यक्ष ओलीको दावी छ । अध्यक्ष ओलीले देशमा अब स्थिरता ल्याउन एमालेले बहुमत ल्याउनुपर्ने जिकिर गर्नुभयो । एमालेले बहुमत ल्याएको खण्डमा स्थिरता कायम हुने र त्यसपछि विकास निर्माणले र समृद्धिले गति लिने उहाँको भनाई छ । अहिले स्थिरता चाहने र नचाहने तत्वका बीचमा विचारको लडाई भएको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले सही नीति र नेतृत्वबाट मात्र आम नेपाली नागरिकको हितमा काम गर्न सकिने धारणा राख्नुभयो । विगतमा जस्तो केही दलहरूलाई जुटाएर सरकार बनाउनुपर्ने अवस्थाले स्थिरता नहुने बताउनुहुँदै अध्यक्ष ओलीले एमालेले हरेक स्थानमा ५१ प्रतिशत मत ल्याउनुपर्ने बताउनुभयो । जनतामा गएर जनताको मन जितेर बहुमत ल्याउने गरी पार्टी बनाउन नेकपा एमाले लागेको ओलीको भनाई छ । देश अहिले अर्थतन्त्रको सङ्कटमा रहेपनि त्यसलाई सुधार गर्नतर्फ सरकार गम्भीर नभएको ओलीको भनाई छ । देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्नका लागि स्वदेशमै उत्पादन भएका बस्तुको बिक्रीमा नलागेर सरकार कमिसनतर्फ दौडिरहेको दावी गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीका सचिव छविलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्य ठाकुर गैरे, खिमलाल भट्टराईलगायतले एमालेलाई ‘मिसन ग्रास रुट’ अभियानले स्थापित गर्ने बताउनुभयो । जिल्लाभरका तीन हजार बढी अगुवा कार्यकर्ताहरू भेलामा सहभागी रहेको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम एमाले पाल्पाका अध्यक्ष घिमिरेकाे अध्यक्षता, सचिव भाेजराज रामजी पाेखरेलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update