तानसेन - तानसेनस्थित मख्खनटाेलका घरटहरामा व्यापार गर्ने व्यापारीहरूले तानसेन नगरपालिकालाई लाखाैँ कर तिरेका छैनन् । यहाँका २३ जना व्यापारीले अटेर गरेर तानसेन नगरपालिकालाई ४२ लाख राजश्व नतिरेको खुलेको छ ।
नगरपालिकालाई अटेर गरेर उनीहरूले वि.स. २०६६ सालदेखि हालसम्म कर नतिरेको नगरपालिकाले जनाएको छ । उनीहरुले २०७९ पुस मसान्तसम्ममा ४१ लाख ९९ हजार बढी कर तिरेका छैनन् । नगरपालिकाले घरटहराको मासिक ५०० देखि २ हजार रुपियाँसम्म टंकी बहाल कर तोकेको छ । यद्यपी उनीहरूले भने विभिन्न व्यापारीबाट भाडामा लगाएर शुल्क उठाइरहेका छन् ।
नगरपालिकाले मनोमानी रुपमा कर लगाएको भन्दै २३ जना व्यापारीले कर नतिरेको बताएका छन् । यद्यपी नगरपालिकाले भने नगर क्षेत्रको जग्गामा बहालबिटौरी तथा टंकीबहाल कर लगाउने अधिकार आफ्नो भएको बताएको छ । सडक हाम्रो हो जे पनि गर्न सकिन्छ भन्ने मनसाय सडक क्षेत्रका टहरा बिक्री गर्ने व्यापारीमा देखिएको नगरपालिकाले जनाएको छ । सडकको जग्गामा दश वर्षदेखि सित्तैमा व्यापार गरेका व्यापारीले एउटा सटरको ६ हजारदेखि २० हजारसम्म भाडामा लगाएको व्यापारीकै भनाइ छ ।
तानसेनमा व्यक्तिकाे घरमा बस्नेले समेत नगरपालिकालाई कर तिरेका बेला मख्खनटाेल क्षेत्रमा २३ जना व्यापारीले भने नगरपालिकाबाट १० वर्षदेखि सित्तैमा सरकारी जग्गा प्रयाेग गरिरहेका हुन् ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ २१:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय